अर्थमन्त्री महोदय, गफ दिएको होइन चर्चा यस्तै छः नीरव पुडासैनीको लेख



अहिले मुलुकको अर्थतन्त्र तीन दशकयताको भन्दा पनि कहाली लाग्दो अवस्थामा पुगेको छ । अर्थमन्त्रीको कारुणीक भाषाबाट नै त्यो प्रष्ट हुन्छ ।

उनले चातुर्य पारामा वा भनौं कर्मचारीको पारामा तथ्यांकलाई लुकाउने ओझेलमा पार्ने वा भनौं तोडमोड पार्ने काम गरिरहेको भान हुन्छ ।

काम शुरु गर्दा जारी गरेको जस्तै श्वेतपत्र जारी गर्न सक्छन् अहिले उनी । उनले त्यो बेला प्रस्तुत गरेको श्वेतपत्रको आधारमा उनको तारिफ भएकै हो । तर निश्चितरुपमा भन्नु पर्दा त्यो उबेलाको निराशाजनक माहोलबीच आशाको मिथ्या उज्यालो मात्र रहेछ भन्ने प्रमाणित हुँदैछ ।

तथापी यस वाक्यांशलाई फिर्ता लिन परोस् वा गलत सावित हुन परोस देशको अर्थतन्त्रका खातिर भन्ने आशा गर्छु । तथापी आर्थिक वर्षको समाप्तीको अन्तिम एक महिना अघि नै सरकारलाई चालु खर्च गर्न नगद नै अभाव हुनुले यसतर्फ संकेत गरेता पनि कोरोनाको कहरबीच यो तर्क उपयुक्त नहोला ।

सरकारलाई आफ्नो अनिवार्य दायित्व पूरा गर्न समस्या हुनु पक्कै पनि सकारात्मक संकेत होइन । यस्तो समयमा सरकारका टुकी बत्ति जस्ता कुराले अर्थतन्त्र गतिशिल हुन सक्दैन भन्ने कुरा आमजनहरुले महसुस गर्न थालिसके ।

तसर्थ अर्थतन्त्रमा नकारात्मक भावना आउन शुरु गरिसकेको छ । जसले आर्थिक उत्पादकलाई घटाउने छ । उपभोक्ता र निर्माता नैराश्यताका कारण अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भनेर बुझेका अर्थमन्त्री के हेरेर कसको आदेश कुरेर बसेका छन् ?

संसारभर पूँजीबजारलाई अर्थतन्त्रको ऐनामा मानिन्छ र हाम्रा अर्थमन्त्री पनि मान्दछन् सायद । तथापी उनको क्रियाकलाप हेर्दा लाग्दैन उनी मान्दछन् । तर हामी मान्छौं, यो सन्देह उनीप्रति किनभने सेयरबजारलाई बन्द गर्न दिएर वा भनौं कडारुपमा प्रस्तुत नभएर, मालपोत खोल्न आदेश दिन्छन् । क्लाउड फन्डिङको दिवा सपना देख्छन् । तर सेयरबजार खुलाउने चेष्टा गर्दैनन्,  झारा टार्ने पाराले खोल्नुपर्ने भन्ने भाषण दिन्छन् र मौन रहन्छन् । कर घटेको वा भनौं घटाइएको चकलेटको गुलियोमा रमाउँदै कतै बजार बन्द गराएर त्यसमाथि जमेको मलाई (तर)को आनन्द लिइरहेका त छैनन भनेर आशांकागत संशय व्यक्त किन नगर्ने ? जवाफ उनी आफै दिउन ।

उनको भाषाको अनुत्पादक क्षेत्र किन खोल्नु पर्यो भन्ने उनको तर्कको हो भने भन्नु केही रहेन । पहेँलो धातुका व्यापारीले धातुको मूल्य वृद्धि हुँदा ग्राहक सुन बेच्न आउँछन्  भन्ने डरले पसलकबल बन्द गरेर बसेको जस्तै नेप्से र सेबोनका जिम्मेवारहरु कतै त्यही रोगले ग्रसित भएर कसैको सम्पत्ति जोगाउने होडमा आम लगानीकर्ताहरुको अन्दाजी ४ खर्ब बन्धक बनाइ त  राखेका छैनन् भनेर किन आरोप नलगाउने ?

यसरी लामो समयसम्म बजार बन्द गर्नाले भविष्यमा हुने वा भनौं भोलि बजारमा आउने गिरावटका अन्तरनिहित कारणहरुमा कमी आउँदैन । बजार आफ्नो लय र चालमा चल्छ  त्यसलाई रोक्न खोज्नु बहुलठ्ठिपन मात्रै हो । यसले लगानीकर्ताहरुको भावनामा नैरश्यता सिर्जना गर्छ (सीमितबोहकका) ।

जसरी बैंक बन्द हुन्छ भन्ने तथाकथित हल्लाका कारण सम्पूर्ण निक्षेपकर्ताहरु आ-आफ्नो पैसा बैंकबाट निकाल्न आतुर हुन्छन् । त्यस्तै अवस्थामा सेयरबजारका लगानीकर्ताहरुमा पनि त्यस्तै भाव आउनु स्वभाविक हो । तसर्थ बजार बन्द गराएर त्यस्ता नकारात्मक भावहरुलाई मलजल दिनु प्रतिउत्पादक सावित हुन्छ ।

धेरै ठूलो मार्जिन वा लिवरेजको खेल हाम्रो बजारमा नभएका कारणले धेरै हतोत्तसाही हुनु जरुरी छैन । करिब ३ महिना लामो लकडाउनपछि मानिसहरु विस्तारै स्वतः आज्ञावादी हुँदै रहेको अवस्थामा बजार खुल्नु अत्यन्तै राम्रो हुन्छ । किनभने महिनौंको लकडाउनकाले सिर्जित नैरश्यता पुनः आशामा परिणत भइरहेको छ ।

बजार खोलेर यसलाई यही रोकौं अन्यथा यो आशाखेति धेरै दिन टिक्न सक्दैन । किनभने यो मनोभावना मात्रै हो । अर्थतन्त्र राम्रोसँग थलिएको छ, तसर्थ यस्को रिपोर्ट आउनुभन्दा अगाडि नै बजारले चाल लिनु राम्रो हुन्छ । अन्यथा राम भरोसा ।

कोरोना कहरको प्रभाव अर्थतन्त्रमा कस्तो पर्छ भनेर आँकलन गर्न सक्ने अवस्था अहिले छैन । यसको प्रभावको डिग्री कति हुन्छ अहिले भन्न सकिन्न् । त्यसकारण त्यही डिग्रीसँगै भोलि बजार सति जान दिनुभन्दा आजबाट नै त्यस्ता नकारात्मक आर्थिक कुराहरुमा अभ्यस्त हुन सिकाउन बजार खोल्न जरुरी छ ।

यस्ता प्रभावहरुबाट तलमाथि हुँदै बजारबाट कसरी कमाउने र आफ्नो सम्पत्तिको सुरक्षा कसरी गर्ने भनेर सिकाउन पनि आजैदेखि बजार खोल्नुपर्छ । होलान नहोलान तर छन् भने आमूख व्यक्तिको केही करोड सम्पत्ति जोगाउन आम लगानीकर्ताहरुको खर्बौको सम्पत्ति बन्धक नबनाइयोस ।

अर्थमन्त्रीज्यू गफ हानेको होइन, कुरा पक्का हो । तथापी (गफ हानेको होइन) यो शब्द आफैमा अति केटाकेटी वा भनौं चिया पसलमा प्रयोग हुने शब्द हुँदाहुँदै पनि हिजो मात्रै प्रधानमन्त्रीज्यूले  पुनः स्मरण गराइदिनु भएको हुँदा यो लेख्नमा प्रयोग गर्ने रहर लाग्यो । माफ गर्नुहोला ।


क्लिकमान्डु