बजेटमा कर बढ्ने भन्दै भन्सारमा थन्किएका गाडी छुटे, एकसातामा ९४० सवारीसाधनको जाँचपास



काठमाडौं । भन्सार शुल्क बढ्ने अनुमानमा महिनौदेखि भन्सारमा थन्किएका गाडीको जाँचपास गराउन व्यवसायीहरु नाकामा पुगेका छन् ।

बजेटमा भन्सार शुल्क बढ्ने अनुमानमा व्यवसायीहरुले महिनौदेखि होल्ड भएर बसेका सवारीसाधनको जाँचपासको लागि भन्सारमा व्यवसायीहरुको भीड लागेको हो ।

व्यवसायीहरुले बजेट भाषण हुनुभन्दा १५ दिन अघिबाट भन्सारमा महिनौदेखि होल्ड भएर बसेको सवारीसाधनको जाँचपास गराएको वीरगञ्ज भन्सार नाका प्रमुख धुनीप्रसाद निरौलाले बताए ।

‘अहिले सबैभन्दाबढी विद्युतीय सवारीसाधनको जाँचपास गराउनेको भीड बढी छ,’ उनले क्किमाण्डूसँग भने ‘यो वर्ष सरकारले विद्युतीय सवारीमा भन्सार शुल्कवृद्धि गर्ने तयारी गर्ने अनुमानको आधारमा व्यवसायीहरुले महिनौदेखि होल्ड भएका विद्युतीय सवारीको जाँचपासमा जोड दिइरहेका छन् ।’

वीरगञ्जमा सिर्सिया सुक्खा बन्दरगाहा, आइसीपी र वीरगञ्ज भन्सार गरी ३ वटा भन्सार छन् । वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाहाबाट मात्र १ सय २० वटा विद्युतीय सवारीको जाँचपास भइसकेको बन्दरगाहाका प्रमुख उमेश श्रेष्ठले बताए ।

‘वीरगञ्जमा रहेका भन्सारहरुमा सिर्सिया सुक्खा बन्दरगाहाबाट मात्र १ सय २० वटा एमजी ब्राण्डका विद्युतीय सवारी साधानको जाँचपास भइसक्यो,’ उनले क्किमाण्डूसँग भने ‘जाँचपास भएका ती विद्युतीय सवारीहरु वीरगञ्ज कै ग्यारेजमा राखिएका छन् ।’

लकडाउन भन्दा अघिबाट भन्सारमा होल्ड भएका सवारीहरुको हाल भन्सार शुल्क बढ्ने आशंकामा जाचँपास गराउँदै लकडाउनले गर्दा व्यवसायीहरुले वीरगञ्जका नै ग्यारेजमा नै राखेको उनको भनाइ छ ।

सो भन्सार नाकामा थप ६० वटाभन्दाबढी सवारी जाँचपासको प्रक्रियामा रहेका छन् । जसमा किया मोटरका २० वटा डिजल÷पेट्रोलबाट चल्ने सवारीको जाचँपासको प्रक्रिया सम्पन्न भएको प्रमुख श्रेष्ठले बताए ।

वीरगञ्जको भन्सारमध्ये आइसीपी र वीरगञ्ज भन्सार नाकाबाट मात्र पछिल्लो ७ दिनमा ९४० वटा सवारीसाधन र ७२० वटा दुई मोटरसाइकल र स्कुटीको जाँचपास भएको छ ।

जसमा सबैभन्दाबढी महिन्द्रा, किया ब्राण्डका सवारी महिनौदेखि होल्ड भएका थिए ।

अहिले जाँचपासको प्रक्रियामा ८ सयबढी सवारी साधन रहेको भन्सार प्रमुख निरौलाले बताए ।

‘पछिल्लो पटक जाँचपासको प्रक्रियामा रहेका अधिकांश विद्युतीय सवारीहरु नै ल्याइएको छ’ भन्सार नाका प्रमुख निरौला भन्छन् ‘व्यवसायीहरुलाई भन्सारमा गाडी धेरै भयो जाँचपास गर्न आऊ भनेर पटक–पटक भन्दा पैसा छैन भन्दै बसिरहेका थिए, तर अहिले भन्सार शुल्क बढ्दै छ भन्ने अनुमानमा जाँचपास गराउनेको भीड लागेको हुनसक्छ ।’

बजेटपछि भन्सार शुल्क बढेपनि बजेट भाषण हुनुभन्दा अगाडि नै डिक्लियर गरिएको भन्सार शुल्कमा नै व्यवसायीहरुले भुक्तानी गर्न पाउने हुँदा बजेटभन्दा अघि जाँचपास गराउनेको भीड हुने गरेको उनले बताए ।

पछिल्लो ७ दिनमा मात्र आइसीपी र वीरगञ्ज भन्सारबाट ३३ करोड १० लाख १२ हजार रुपैयाँ बराबरका २१ वटा ट्याक्टर, १२३ वटा कार÷जीप÷ भ्यान, ७४ वटा पिकअप भ्यान र २ वटा लरीकोे ५५ करोड ९४ लाख रुपैयाँ भन्सार संकलन भएको छ । साथै ७ करोड ४० लाख रुपैयाँ बराबरको ७२० वटा बाइकको ९ करोड रुपैयाँ भन्सार संकलन भएको वीरगञ्ज भन्सार विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु