व्यवसायी अञ्जन श्रेष्ठ भन्छन्- लकडाउनमा काम नगरेका कर्मचारीलाई तलब दिन सकिँदैन



काठमाडौं । व्यवसायी अञ्जन श्रेष्ठले कोरोना भाइरसका कारण व्यवसायीहरुमा ठूलो मार परेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । सरकारले व्यवसायीलाई सम्बोधन गर्दा व्यवसायीसँग छलफल र सुझावका आधारमा मात्रै ल्याउनु समेत सुझाव दिएका छन् ।

सरकारले व्यवसायीलाई गर्ने व्यवहार मालिकको जस्तो भएको र यो गर वा त्यो गर भनेजस्तै भएको भन्दै उनले दुःख व्यक्त गरे ।

‘सरकारले व्यवसायीहरुलाई मालिकले जस्तो निर्देशन दिने र भगवान जस्तो लामो समयसम्म सुनिरहने जस्तो हुनु भएन, अभिभावकका रुपमा काम गर्नुपर्छ,’ उनले भने ।

श्रेष्ठले लकडाउनका कारण काम नगर्ने श्रमिकलाई तलब दिन नसक्ने भन्दै नो वर्क नो पे लागू गर्नुपर्ने बताए । साथै तत्कालै सम्पूर्ण श्रमिकलाई काम लगाउन नसक्ने भएकाले आंशिकरुपमा मात्रै श्रमिकलाई काम लगाउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

‘काममा नआउने श्रमिकलाई तलब दिनसक्ने अवस्था छैन, यसका लागि सरकार र मजदुर संगठनले सहयोग गर्नुपर्छ,’ उनले भने ।

त्यसैगरी श्रमिकलाई दिइने व्यवस्था स्थानीय प्रशासन र प्रहरीले पनि मान्यता दिनुपर्ने भन्दै कार्यस्थलमा मापदण्ड अनुसारको सुरक्षा व्यवस्था हुनुपर्ने बताए ।

उनले कार्यस्थलमा मजदुर बिरामी भए भने त्यसको जिम्मेवारी रोजगारदाता कम्पनीले मात्रै लिन नसक्ने र राज्यले लिनुपर्ने भन्दै त्यो लिखितरुपमा ल्याउनु पर्ने बताए ।

उनले श्रमिक राख्नका लागि खर्चका हिसाबले पनि व्यवस्थापनका हिसाबले पनि व्यवसायीलाई बाध्य पार्न नहुने बताए ।

त्यसबाहेक कच्चा पदार्थ ल्याउने उत्पादन निर्यात गर्ने विषयमा पनि सचेत भएर सरकारले स्पष्ट निर्देशन दिनुपर्छ । र, समन्वयात्मक भूमिका हुनुपर्छ ।

उनले सरकारले ल्याएको मापदण्ड पनि पनि स्पष्ट नभएको बताए ।

‘कुन निकायले कसरी समन्वय गर्ने भन्ने पनि छैन । स्थानीय निकायसँग सहजीकरण गर्ने भन्ने पनि स्पष्ट छैन, त्यसमा पनि स्पष्ट हुनुपर्छ,’ उनले भने ।

साथै उद्योगहरुलाई बैंकको ब्याजदरमा पनि केही राहत दिनुपर्ने उनले बताए ।

‘अब हुने अनिश्चितता ठूलो छ, त्यसैले २ वर्ष व्यवसाय बन्दहुँदा त्यसले ठूलो असर पारेको छ । त्यसकारणले ब्याजमा छुट दिनु हुन्न भन्ने जस्ता कुरा गर्नुहुँदैन,’ उनले भने ।


पुष्प दुलाल