होटल तथा क्यासिनोका मजदुरले भने- पारिश्रमिक र सुविधा कटौती कानून विपरीत



काठमाडौं । होटल तथा क्यासिनोका मजदुरहरुले पारिश्रमिक र सुविधा कटौतीको प्रस्ताव कानून विपरीत भएको भन्दै कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरेका छन् ।

होटल एससोसिएसन नेपाल (हान)ले सरकारलाई केही दिन अघि कोरोना भाइरसको महामारीका कारण श्रमिक तथा कर्मचारीलाई पारिश्रमिक दिन नसकेको भन्दै जगेडामा राख्न माग गरेका थिए ।

त्यसको विरोध गर्दै होटल तथा क्यासिनोका मजदुरका संघहरुले सोमबार यो कानून विपरीत भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र बुझाएका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

‘श्रम ऐन २०७४ को दफा १५ बमोजिम श्रमिकलाई जगेडामा राख्दा युनियनको सहमति बाहेक १५ दिनसम्म जगेडामा राख्न सक्ने र सो समयभन्दा बढी समयसम्म जगेडामा राख्दा युनियनको सहमतिमा मात्रै जगेडामा राख्न सक्ने स्पष्ट कानूनी व्यवस्थाका विपरीत श्रम नियमावली २०७५ को नियम ५ को प्रक्रिया समेत पूरा नगरी जगेडामा राख्ने कार्य तत्काल बन्द गर्न र कानून विपरीगत जगेडामा राखिएको अवस्थामा सम्पूर्ण तलब भत्ता उपलब्ध गराउन आवश्यक निर्देशन दिन सरकारसँग आग्रह गरिएको छ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।

विगतमा भएका आन्दोलनमा समेत महिनौ दिनसम्म सम्पूर्ण पर्यटन क्षेत्रमा गम्भीर असर पर्दा समेत कुनै पनि सेवा सुविधा कटौती गरिएको थिएन, तर कोरोना भाइरसको महामारीको संकट देखाउँदै कानून विपरीत पारिश्रमिक र सुविधा दिन नसक्ने र देशको कानूनको पालना गर्न नसक्ने भनि पर्यटन क्षेत्रका संघ संस्थाबाट मन्त्रीज्यूलाई ध्यानाकर्षण समेत गराउन गलत भएको उल्लेख छ ।

साथै संघ संस्थाले बुझाएको ध्यानाकर्षण आफ्नो पूर्ण असहमति भएको समेत उल्लेख गरिएको छ ।


क्लिकमान्डु