असार मसान्तको ब्याज भुक्तानीमा राष्ट्र बैंकले सहुलियत दिने गभर्नरको घोषणा, यस्तो छ पूर्णपाठ



काठमाडौं । राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ । राष्ट्र बैंकको ६५औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै यस्तो घोषणा गरेका हुन् ।

गभर्नर अधिकारीले आफ्नो मन्तव्य राष्ट्र बैंकको वेब साइटमार्फत् सार्वजनिक गर्दै चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जानकारी दिए ।

उनले नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण उत्पन्न महामारीबाट सिर्जित आजको विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानीयोग्य साधनको अभाव हुन नदिन तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध भएको उल्लेख गरेका छन् ।

उनले संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न आगामी दिनमा देहायबमोजिमका व्यवस्था मिलाइने व्यहोरा जानकारी गराएका छन् ।

यसैगरी उनले कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ बताएका छन् ।

आफ्नो मन्तव्यमा आगामी नीतिहरु उल्लेख गर्दै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ बताएका छन् । साथै, ६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइने उल्लेख गरेका छन् ।

उनको मन्तव्य अनुसार बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने, कोभिड-१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ । साथै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइनेछ ।


पुष्प दुलाल