साना ऋणीलाई बैंकका सञ्चालकहरुको बम्पर राहत प्याकेज (पूर्णपाठ)



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले साना ऋणीका लागि बम्पर प्याकेज घोषणा गरेको छ ।

परिसंघले साना ऋणीलाई ब्याजदरमा १० प्रतिशत छुटदेखि १ प्रतिशतसम्म ब्याज कम गर्ने घोषणा गरेको हो ।

ऋणीलाई बैंकका सञ्चालकहरुको बम्पर प्याकेजः व्याज छुटदेखि सस्तोमा ऋणसम्म

बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने , विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने परिसंघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल
                   प्रेस विज्ञप्ति

कोरोना भाइरस (कोभिड १९) संक्रमणले महामारीको रुप लिएको छ । कोभिड १९ संक्रमण र सोही कारणले ज्यान गुमाउनेहरुको संख्या विश्वभर बृद्धिको क्रममा छ । सोही कारण विश्व आर्थिकमन्दीमा प्रदेश गरेको छ । यसैको कारण उत्पन्न समस्या न्यूनिकरणका लागि विभिन्न देशले विभिन्न प्रकारका राहत कार्यक्रम ल्याएका छन्।

नेपाल पनि कोभिड १९ महामारीको चपेटामा परेको छ । महामारीको कारण नेपालको आर्थिक, सामाजिक, सांस्कृतिका लगायत सबै क्षेत्रमा गम्भीर असर पुगेको छ ।

यही परिवेशमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालकहरुको बिस्तारिक बैैठक बसी अहिलेको ऐतिहासिक संकट सामना गर्नको लागि समग्र अर्थतन्त्र जोगाइ अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ ।
कोभिड १९ संक्रमण फैलनबाट रोक्न नेपाल सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण उद्योग व्यवसाय बन्द छन् । मानिसहरु घरभित्रै बसेका छन् । उद्योग कलकारखना चल्न सकेका छैनन् । अर्थतन्त्रका सबै क्षेत्रमा गम्भीर असर परेको छ । यही परिवेशमा नेपालको वित्तीय क्षेत्रले गर्न प्रदान गर्न सक्ने राहत कार्यक्रमको घोषणा गर्दै र सरकारले गर्नुपर्ने सुधारका लागि विभिन्न नीतिगत परिवर्तन गर्न सुझाव दिने निर्णय गरिएको छ ।

वित्तीय क्षेत्रका राहत प्याकेज

१. बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा सुविधा उपयोग गर्नुभएका नियमित ग्राहक महानुभावहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गर्नुभएमा बुझाउनु भएको साधारण ब्याजको १० प्रतिशत ले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ ।

२. बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने । यस्तै, विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने ।

३. बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्ने ।

४. कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने ।

सरकारलाई सुझाव

१. महिलाले १५ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणका व्यवस्था आकर्षित नहुने, प्थ्ऋरकर चुक्ता समन्धी र सम्पत्तिको स्रोत खोज्ने अहिलेको व्यवस्था हटाउने । यस्तो व्यवस्था कार्यान्वयन गर्दा देशभर छरिएर रहेको रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन हुने ।

२. नेपाली नागरिक, गैरआवाशीय नेपाली, विदेशी नागरिक तथा संस्थाहरुले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनी मार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा त्यसो गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने । यस्तो रकमको लकिङ पिरियड २ देखि ३ वर्ष कायम गरिनु उपयुक्त हुने ।

३. नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणाली मार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने । यस्तो लगानीको बैंक तथा वित्तीय संस्थाहरुले रेकर्ड राख्ने र सोको जानकारी नियामक निकाय तथा सरोकारवाला निकायलाई दिने ।

४. गैरआवाशीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउने ।

५. नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्ने ।

भोजबहादुर शाह
प्रबक्ता तथा उपाध्याक्ष्य
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल


पुष्प दुलाल