कोरोना संक्रमित घुमेको ठाउँदेखि सम्पर्क ब्यक्तिसम्म ट्रर्याक गर्ने एप्लिकेशन ल्याउने तयारी
काठमाडौं । इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस’ लाई नेपालमा प्रयोगमा ल्याउन पहल थालेकी छिन् ।
कोरोनाको संक्रमणले विश्व नै त्रसित बनिरहेका बेला राजदूत शाक्यले उक्त सफ्टवेयर एप्लिकेसन नेपालमा प्रयोगमा ल्याउन सकिने वा नसकिने विषयमा इजरायलको केएलपी मामन कम्पनीका प्रतिनिधिहरु र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुसँग भिडियो कन्फरेन्समार्फत भएको छ ।
कन्फरेन्समा केएलपी मामन कम्पनीका प्रतिनिधिले उक्त एप्लिकेसन कोरोना संक्रमणलाई नियन्त्रण गर्न कसरी सहयोगी हुन्छ भन्ने विषयमा भिडियो कन्फरेन्समार्फत नै प्रस्तुति दिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. दिपेन्द्र रमण सिंह नेतृत्वको टोलीले उक्त एप्लिकेसन नेपाललाई उपयुक्त हुने–नहुने बारेमा जानकारी लिएका छन् ।
उक्त एप्लिकेसनले कोरोना संक्रमित ब्यक्ति बिगत १४ दिनमा गएका ठाउँहरुको ट्र्याक गरी सम्भावित सम्पर्कमा आएका ब्यक्तिहरुलाई जानकारी गराई होम क्वारेन्टाइनमा बस्न वा चिकित्सकसँग सम्पर्क गर्न सल्लाह दिने उक्त कम्पनीका प्रतिनिधिले जानकारी गराएका छन् ।
इजरायलले उक्त सफ्टवेयर एप्लिकेसन प्रयोगमा ल्याएपछि त्यहाँ लकडाउन नै नगरी कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ ।
यो एप्लिकेसन इटाली, क्यानडा, दुबई तथा मेक्सिको लगायतका अन्य देशहरुमा प्रयोगमा आउने क्रममा रहेको कम्पनिले जानकारी दिएको छ ।
शाक्यले यसअघि पनि कोरोना भाइरसका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव तथा सरकारका उच्चस्तरीय पदाधिकारीहरु सम्मिलित भिडियो कन्फ्रेन्समा सहभागी भई इजरायल र साइप्रसको कोरोना संक्रमणसम्बन्धी तथ्यांक, नेपालीहरुको अवस्था, नेपालीहरुमा कोरोनाका कारण देखिएका समस्याहरु-नकारात्मक प्रभावहरु, अब उत्पन्न हुन सक्ने समस्याहरु, समस्या समाधानका उपायहरूबारे छलफल गरेकी थिइन् ।