सरकारसँग व्यवसायी असन्तुष्ट, हामीलाई राहत खोई ?
काठमाडौं । सरकारले अन्य क्षेत्रलाई पर्याप्त राहत दिएपनि व्यवसायीहरुलाई नदिएको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।
आइतबार मात्रै नेपाल राष्ट्र बैंक र नेपाल सरकारले कोरोना प्रभावितलाई राहत प्याकेजको घोषणा गरेका थिए ।
राष्ट्र बैंकको प्याकेजसँग सन्तुष्ट भएका व्यवसायीहरुले सरकारको प्याकेजसँग भने असन्तुष्ट भएका हुन् ।
‘राष्ट्र बैंकले आफ्नो तर्फबाट दिनसक्ने जति राहत प्याकेज दिएको छ तर सरकार आफूले भने त्यस्तो कुनै प्याकेज ल्याएको छैन, जसले हामी उद्योगी व्यवसायीहरुलाई ढाडस मिलोस्,’ महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले क्लिकमाण्डूसँग भने ।
सरकारले घरपेटीलाई भाडा नलिन, इन्टरनेट सेवा प्रदायकलाई २५ प्रतिशत छुट दिन, निजी क्षेत्रका हस्पिटलहरुले चैत मसान्तसम्म विरामीलाई लिन शुल्कमा २० प्रतिशत छुट दिन, निजी विद्यालयले माविसम्मका विद्यार्थीहरुको लागि एक महिनासम्मको लागि आवासीय शुल्क बाहेकका अन्य सबै शुल्कमा मिनाह गर्नु पर्ने लगायतका निर्णय गरेर आफूले गर्नुपर्ने काम सम्बन्धित व्यवसायीका काँधमा थोपारेको मुरारका बताउँछन् ।
तर, सरकारले पूर्णरुपमा बन्द भएका उद्योगहरुले पनि कर्मचारीलाई चैत महिनाको तलव दिनुपर्ने निर्णय गरेको छ ।
‘खासगरी, पर्यटन र कन्स्टक्सन्स क्षेत्र सबैभन्दा प्रभावित भएको छ,’ मुरारकाले भने, ‘अन्य व्यवसाय पनि संकटमा परेका छन्, तर सरकारले त्यस्ता व्यवसायीलाई राहत दिएको छैन ।’
उत्पादन मुलक उद्योगलाई ३० देखि ५० प्रतिशत विद्युत महशुलमा छुट प्राधिकरणलाई निर्देशन दिने सरकारको निर्णय छ । तर, प्राधिकरणलाई बाल्दै नबालेको बिजुलीको बिल पठान रोक्ने निर्णय भने नगरेको व्यवसायीहरुको गुनासो छ ।
‘ब्याजमा छुट दिँदा बैंकहरुलाई प्रभाव पर्छ, सरकारले चाहीँ आफ्नो तर्फबाट उद्योमी व्यवसायीलाई के राहत दियो ?’ मुरारका प्रश्न गर्छन् ।
कर र भ्याट बुझाउने म्याद १ महिना पर सार्नु भनेको राहत नभइ परिस्थिवस निर्णय भएको व्यवसायीहरु बताउँछन् ।
महासंघ अध्यक्ष भवानी राणा पनि मुरारकाको तर्कमा सहमत छिन् ।
‘सरकारबाट हामी व्यवसायीहरुले ठूलो राहतको अपेक्षा गरेका थियौं तर हाम्रो मागको सम्बोधन भएन,’ राणाले भनिन् ।
राष्ट बैंकको प्याकेजले ब्याजदर केही घटाउने भएकाले त्यो सकरात्मक भएको उनको भनाइ छ ।
‘सरकारबाट ब्याजदरमा सब्सिडी प्याकेज आउनुपर्छ,’ उनले भनिन्, ‘पर्यटन क्षेत्रमा ठूलो समस्यामा छ, होटलहरु त पुरै बन्द नै भएका छन् । सरकारबाट राहत खोई ?’
उखेग व्यवसाय नै नरहे राज्य चल्न नसक्ने भन्दै यस्तो संघटको घडीमा उद्योगी व्यवसायीको मनोवल उच्च हुने निर्णय लिन अध्यक्ष राणाको आग्रह छ ।