
झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि झापा जिल्लामा करिब ६४ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा गरी कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ४ लाख ५८ हजार ३६२ मत खसेको हो। यो कुल मतदाताको ६४.२४ प्रतिशत हो।
तथ्यांक अनुसार झापामा महिला मतदाताको सहभागिता उल्लेख्य देखिएको छ। कुल खसेको मतमध्ये महिला २ लाख ४२ हजार ५७५, पुरुष २ लाख १५ हजार ७८५ र अन्य २ जनाले मतदान गरेका छन्।
निर्वाचन क्षेत्रगत विवरण अनुसार निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा धेरै मत खसेको छ। सो क्षेत्रमा ६५.११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यो क्षेत्रमा नेकमा एमालेका अध्यक्षा केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त पार्टीका नेता बालेन शाहले प्रतिस्पर्धा गरेका छन् ।
अन्य क्षेत्रको मतदान प्रतिशत पनि करिब समान देखिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा ६३.९५ प्रतिशत, नम्बर ३ मा ६२.७९ प्रतिशत, नम्बर ४ मा ६३.८५ प्रतिशत र नम्बर ५ मा ६५.११ प्रतिशत मत खसेको विवरणमा उल्लेख छ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अब मतगणनाको तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सम्बन्धित मतगणना स्थलमा ल्याउने काम जारी रहेको छ।
निर्वाचन अधिकारीहरूका अनुसार मतगणना प्रक्रिया आजै राति वा भोलिबाट सुरु हुन सक्ने सम्भावना छ।









प्रतिक्रिया