महावीर पुनले बनाउन थाले पिपिई, सरकार र अस्पताललाई निःशुल्क दिने
काठमाडौं । महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने भएका छन् । बिहीबारदेखि पिपिई बनाउन थालेका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताए ।
बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले बताए । ‘एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ’, उनले भने, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।’
चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पिपिई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पिपिई बनाउने छन् ।
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उनले बनाउन थालेका हुन । ‘शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो’ उनले भने, ‘अनि त्यही नमूनाअनुसार मैले पिपिई बनाउन थालेको हुँ ।’ उनले पिपिई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।
मजदुर र कच्चा पदार्थको अभाव
पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदुर र कच्चा पदार्थको अभाव भएको बताए ।
‘‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’ उनले भने, ‘‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’ उनले पिपिई बनाउन चाहिने कच्चा पदार्थ र मजदुर अहिले खोजिरहेका छन् ।