राष्ट्रिय सभा उपाध्यक्षले दिइन् कोरोना भाइरस कोषमा एक महिनाको तलब



काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक महिनाको तलब प्रदान गर्ने बताएकी छिन् ।

उपाध्यक्ष दाहालले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी छिन् ।

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि अपिल गरेकी छिन् । उपाध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमण जोखिम नेपालमा पनि रहेकाले संक्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन पनि सचेत गराएकी छिन् ।

विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा उपचार कोष स्थापना गर्दै रकम जम्मा गर्न अपिल गरेको छ । उपचार कोषमा यसअघि प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले पनि एक एक महिनाको तलब जम्मा गरेका छन् ।


क्लिकमान्डु