कोरोनाको असर- सहकारीमा बचत संकलन कम भयो



 

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालको सहकारी क्षेत्रमा पनि देखिन थालेको छ ।
सहकारी क्षेत्रका अधिकारीहरुका अनुसार विगतको साता यता सहकारी क्षेत्रमा बचत संकलन कम हुनुका साथै ऋणको ब्याज समेत संकलनमा कमी आउन थालेको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले कोरोना भाइरसको कारण सहकारी क्षेत्रमा पनि आर्थिकमन्दिको असर देखिने सम्भावना बढेको बताए । अहिले विश्वमा नै यसको असर देखिन थालेको भन्दै सहकारी पनि यसबाट अछुतो नहुने उनको तर्क छ । व्यापार व्यवसाय ठप्प हुने भएपछि सदस्यहरुले बचत नगर्ने हुँदा समस्या देखिने उनको बुझाइ छ ।

अहिले नै धेरै असर नदेखिएपनि क्रमिक रुपमा यसको असर देखिने अध्यक्ष कँडेलले बताए । उनका अनुसार अहिले केही प्रारम्भिक सहकारीका पदाधिकारीहरुले आगामी दिनमा कसरी अघि बढने भनेर महासंघसँग सम्पर्क गर्न थालेको बताए ।

अहिले धेरै आँत्तिन पर्ने अवस्था नभएपनि समस्या जटिल बनेको खण्डमा महासंघले सरोकारवाला निकायसँगसमन्वय गरेर अघि बढने उनको तर्क छ ।

नव कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हरि पाण्डेका अनुसार अहिले सहकारी क्षेत्रमा बिस्तारै समस्या देखिन थालेको छ ।

उनका अनुसार अहिले सहकारी क्षेत्रमा समयमा ब्याज नउठने, बचत कम हुने जस्ता समस्या देखिएको उनको तर्क छ । कतिपय सहकारीका सदस्यहरुले दैनिक उपभोग्य समान बचतमा राख्नको लागि सहकारीमा बचत पनि कम गर्न थालेको पाण्डको तर्क छ ।

कोरोनाको त्रासका कारण बजार क्रमिक रुपमा सुनसान हुदै गएको सहकारीका कर्मचारी पनि पैसा उठाउन जान पनि डर लाग्ने अवस्था सृजना हुने हो की भन्ने देखिन थालेको बताए ।

कतिपय समयमा त पैसाका कारण पनि यो संक्रमण देखिने चर्चा भएको भन्दै सहकारीमा आउनेहरुको लागि गेटमा नै सेनिटाइजरको प्रयोग गर्ने, काउन्टरमा रहेको कर्मचारीहरुले पनि सेनिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षाको उपाय आफ्नो सहकारीले पनि सुरु गरेको र अन्यले पनि सुरु गरेको उनको भनाइ छ ।

सिइओ पाण्डेका अनुसार व्यवसायीहरुको पनि आम्दानी घट्दै गएकोले ब्याज उठन समस्या भएको र कतिपय ऋणिले त अहिलेको ब्याजलाई घटाउन सकिन्छ कि भन्ने खालको फोन आउन थालेको छ । अहिले नै कारोनाको कारण धेरै डर देखिने अवस्था नभए पनि आगामी दिनमा नसोचेको अवस्था आएको खण्डमा कसरी अघि बढने भनेर महासंघसँग आवश्यक छलफल गरेर अघि बढने तर्फ संकेत गरे ।

प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण तिमल्सीनाले उपत्यकाका धेरै सहकारीहरुमा विस्तारै समस्या देखिन थालेको बताए । उनका अनुसार विगत एक सातायता सहकारी संस्थामा बचत लगायतमा समस्या सुरु भएको र आगामी दिनमा यो अवस्था बढदै गएमा सहरी क्षेत्रका सहकारी संस्था बन्द गर्नुपर्ने अवस्ूथामा पनि पुग्ने उनको संकेत छ ।

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी सन्चालक महासंकर रेग्मीले सहरी क्षेत्रबेस रहेका सहकारीलाई समस्या देखिन थालेको बताए । मानिसको आवतजावत कम, ब्यापार व्यवसाय न्यून भएसँगै कर्जा भुक्तानीमा समेत समस्या भएको बताए ।

कोरोनाको समस्या बढदै गएको सहकारीहरुले पनि सुरक्षामा ध्यान दिने, सहकारीका सदस्यहरुलाई कार्यालयमा नै बोलाएर सेवा दिने हो की भन्ने सोचमा आफूहरु लागेको बताए ।

अहिले नै सहकारीहरु बन्द गर्ने अवस्था नरहेको र त्यो अवस्था आएको खण्डमा कसरी अघि बढने भनेर महासंघसँग छलफल गर्ने बताए । यस्ता विषयमा हरेक सहकारीले आफ्नो धारणा बनाउनु भन्दा पनि महासंघबाट आधिकारीक धारणा आउनु राम्रो हुने रेग्मीको भनाइ छ ।

यता नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सन्चालक बिकल्प पाठकले पछिल्लो समयमा पर्यटन व्यवसायसँग सम्बन्धीत, होटल लगायतका क्षेत्रमा समस्या देखिएको छ ।

पछिल्लो दिनमा व्यापारीहरुको खाध्यान्न, ग्यास लगायतको कारोबार बढेका कारण निक्षेप संकलनमा कुुनै कमी नआएको बताए । केही समय बचत बढेपनि यसको असर दीर्घकालीन रुपमा भने देखिने उनको भनाइ छ ।


क्लिकमान्डु