‘भम्रण वर्ष रोकियो, अब २०३० लक्षित गरी हरेक वर्ष विशेष रुपमा मनाऔं’: पर्यटनमन्त्री भट्टराई



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष स्थगन भइसकेको अवस्थामा सन् २०३० लाई लक्षित गरी अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार सबै प्रदेशका पर्यटन सचिव र महानगरपालिकाका प्रतिनिधि सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन विकासका लागि एक दशकको अवधारणाका साथ काम गर्नुपर्ने बताए ।

‘कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षका कार्यक्रमहरु करिब करिब स्थगन भइसकेका छन्, अब हामी सन् २०३० सम्मको कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ,’ उनले भने ।

उनले हरेक वर्षलाई विशेष पर्यटन वर्षका रुपमा बनाउनुपर्ने बताए । ‘अब हरेक वर्षलाई विशेष पर्यटन वर्षका रुपमा मनाऔं, यसका लागि १० वर्षको खाका बनाऔं,’ उनले भने ।

उनले १५औं पञ्चवर्षिय योजनाले लिएका लक्ष्य प्राप्तीका लागि योही अनुसार योजना र बजेट विनियोजन गरी अगाडि बढ्नुपर्ने बताए ।

पञ्चवर्षिय योजनाले पर्यटकको दैनिक औसत खर्च १००० अमेरिकी डलर बनाउने लक्ष्य लिएको छ । सन् २०१८ मा यो रकम ४४ अमेरिकी डलर थियो ।

साथै, पर्यटकको औसत बसाई लम्बाउने र मुलुकको जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । हाल पर्यटन क्षेत्रको जीडीपीमा २।२ प्रतिशत मात्रै योगदान छ ।


क्लिकमान्डु