डलरको भाउ हालसम्मकै उच्च, एक महिनामा ५ रुपैयाँले बढ्यो
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार बजारमा १ डलर बराबर ११९.०४ रुपैयाँमा कारोबार भएको छ ।
भारतीय अर्थतन्त्रमा समस्या भएर भारतीय रुपैयाँ कमजोर भएपछि स्वत नेपाली रुपैयाँ कमजोर बनेको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा तोकेको छ ।
पछिल्लो एक महिनामा नै डलरको भाउ ५ रुपैयाँले बढेको हो । राष्ट्र बैंकको अनुसार गत माघ मसान्तमा डलरको भाउ एकको खरिददर ११४ रुपैयाँ रहेको थियो ।
यस्तै, राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयदर अनुसार युरोपियन १ युरो बराबर १३३ रुपैयाँ ५३ पैसा, यूके १ पाउण्ड बराबर १५१ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन १ डलर बराबर १२६ रुपैयाँ ६० पैसा, सिंगापूर १ डलर बराबर ८४ रुपैयाँ ८१ पैसा र क्यानडा १ डलर बराबर ८६ रुपैयाँ १६ पैसा बिक्रीदर तोकिएको छ ।
छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसका कारणले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि विदेशी विनिमयको भाउ बढेको जानकारहरुको भनाइ छ ।