चीनको हुवावेमा नियन्त्रण हुँदै गर्दा अमेरिका र युरोपमा भने कोरोनाको कहर बढ्यो



गत डिसेम्बर ३१ देखि चीनको हुवावे प्रान्तमा फैलिन शुरु भएको कोभिड १९ भनिने कोरोना भाइरस यतिबेला चीनको हुवावे प्रान्तमा नियन्त्रणमा आउन थालेको समाचार आउन थालेका छन् ।

तर यसको प्रभाव अन्य देशमा भने व्यापक रुपमा देखिन शुरु भइसकेको छ । चीनपछि सबैभन्दा बढी प्रभावित भएको दक्षिण कोरिया, इटली, इरान र जापनलगात १२५ देशमा संक्रमण देखिइसकेको छ ।

चीनको हुवावे प्रान्तमा अहिले उद्योग कलकारखानासँगै सिनेमाहरु खुल्न थालेका छन् । यसले त्यहाँका नागरिक र समग्र विश्वलाई नियन्त्रणमुखी आशा पलाएको बताइएको छ ।

चीनमा बुधबार १८ जना नयाँ विरामी थप हुँदा इरानमा भने १ हजार ७५ जना नयाँ विरामी देखिएका छन् । इरानले यसअघि नै सबै नागरिकलाई क्वारेन्टाइनमा बस्न भनिसकेको थियो ।

चीनमा हालसम्म ८० हजार ७८६ जनामा संक्रमण देखिएकोमा, इटलीमा १२ हजार ४६२, इरानमा १० हजार ७५, दक्षिण कोरियामा ७८६९, फ्रान्समा २ हजार २८१, स्पेनमा २ हजार २७७, जर्मनीमा १ हजार ९६६ र अमेरिकामा १ हजार ३३७ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।

नेपालसँगै मकाउ, गिब्राल्टारमा भने कोरोना भाइरसको संक्रमण देखिए पनि सम्पूर्ण निको भइसकेको विश्व स्वास्थ्य संगठनको वेवसाइटमा उल्लेख छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाकै कारणले हालसम्म ७३ जना बिरामी पुष्टि भइसकेको छ । दिल्लीका विद्यालय मार्च ३१ सम्मका लागि बन्द भएका छन्, भने भारतमर ५२ वटा परीक्षण केन्द्र समेत स्थापना गरिसकेको छ ।

अमेरिकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै बेलायतबाहेक सबै युरोपियन देशका नागरिकलाई ३० दिनसम्मका लागि ट्राभल ब्यान गरिसकेको छ भने आयरल्यान्डमा सबै विद्यालय बन्द भएका छन् ।

स्पेनमा सरकारले संक्रमण फैलन नदिन परीक्षण शुरु गरिसकेको छ भने पछिल्लो समय ग्रिसमा यसैका कारण पहिलो मृत्यु भएको छ ।

अटोबोइल र एभिएसनमा सबैभन्दा ठूलो असर
कोरोना भाइरसका कारणले चीनको अटोमोटिभ र एभिएसन क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । पछिल्लो १६ वर्षसम्म लगातार फाइदामा गएर विमान कम्पनीहरु पहिलो पटक एतिहासिक रुपमा घाटामा गएका छन् । चीनमा यस अवधिमा कारबो बिक्री ७९ प्रतिशतले घटेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

यस अवधिमा चीनमा ३ लाख १० हजार मात्रै सवारी साधन बिक्री भएका थिए । साथै नयाँ विद्युतीय कारको बिक्री पनि ७५ प्रतिशतले कमी आएको छ ।

त्यति मात्रै होइन चीनको हवाई क्षेत्र पनि सबैभन्दा बढी प्रभावित भएको छ । यस अवधिमा ५० भन्दा बढी विमान देशले चीनमा हुने सयौं उडान रद्द गरे भने चीनले पनि उडान रद्द गरेको थियो । चिनियाँ हवाई क्षेत्र फेब्रुअरी महिनामा त्रले इतिहासकै सबैभन्दा खराब अवस्थामा गुज्रिएको थियो । यस अवधिमा यात्रुको चाप ८५ प्रतिशत र कार्गो मात्रै २१ प्रतिशतले घटेको त्यहाँको उड्डयन प्राधिकरणले जानकारी दिएको छ । गत आइतबारदेखि मात्रै जम्मा ४० प्रतिशत आन्तरिक उडान सञ्चालन हुन थालेका छन् ।

भारतमा ७३ जनामा भेटिएको पुष्टि
७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि छिमेकी मुलुक भारतले ३५ दिनका लागि सबै विदेशी नागरिकको भिसा रद्द गरेको छ । तर भिसाको बैधानिकता भने यथावत रहने समेत बताएको छ ।

उसले कुटनीतिकज्ञ, श्रम भिसाका लागि मात्रै छुट दिएको छ । त्यति मात्रै होइन, भारतले आफ्ना नागरिकलाई विदेश जानबाट बच्न समेत आह्वान गरेको छ ।

भारतको सरकारले ३१ मार्चसम्म बायोमेट्रिक अटेन्डेन्समा पनि रोक लगाएको छ । देशका ३० वटा विमानस्थलमा विदेशबाट आउने यात्रुको स्क्रिनिङ गरिरहेको समेत जनाएको छ ।

भारतमा चीन, इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन तथा जनवरीबाट १५ फेब्रुअरीपछि आएका यात्रुहरुलाई कम्तीमा १४ दिन आइसोलेसनमा राखिने जनाएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरिसकेको छ ।

हालसम्म भारतले कोरोना भाइरसबाट प्रभावित ९४८ यात्रुलाई निकालिसकेको छ । जसमा ९०० भारतीय छन भने बाँकी ४८ जना विदेशी नागरिक थिए । जसमा मालदिभ्स, म्यानमार, बंगलादेश, चीन, अमेरिका, श्रीलंका, नेपाल, दक्षिण अफ्रिका तथा पेरु सामेल छन् ।

आईपीएलमा पनि असर
भारतले विदेशीको भिसा रद्द गरेपछि मार्च २९ तारिखदेखि शुरु हुने इन्डियन प्रिमियर लिग समेत प्रभावित हुने भएको छ । कुल ८ टिममा ६५ जना विदेशी खेलाडी अनुबन्धित छन् । यद्यपि आईपीएल रोक्न सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ ।


क्लिकमान्डु