अबदेखि नेप्सेमा दैनिक ५ घन्टा सेयर किनबेच हुने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबारबाट सेयर कारोबार दैनिक ५ घन्टा हुने भएको छ ।

त्यसको लागि धितोपत्र बोर्डले नेप्सेलाई आइतबारबाट दैनिक ५ घन्टा सेयर कारोबार गर्नको लागि मौखिक जानकारी गराइसकेको छ ।

नेप्से निकट स्रोतका अनुसार बोर्डबाट बिहीबार (आज) आगामी आइतबारबाट दैनिक ५ घन्टा सेयर कारोबार गर्नु भनेर मौखिक जानकारी आएको छ । त्यसको लागि नेप्सेको सञ्चालक समितिले पारित गर्नुपर्ने छ ।

‘आइतबारबाट नै हुन्छ वा एक दिन पर जान्छ यसै भन्न सकिँदैन, तर अब धेरै पर जान्दैन,’ नेप्से स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

अब दैनिक १०ः ३० बजेबाट ३ः३० बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि दैनिक ४ घन्टा अर्थात् ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको थियो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ को कारोबार सञ्चालन को उपनियम २ मा कारोबार समय र सत्रमा बोर्डलाई जानकारी दिई आवश्यकता अनुसार नेप्सेले हेरफेर गर्न सक्नेछ ।

यसरी कारोबारको समय र सत्र हेरफेर गरिएमा नेप्सेले सो सम्बन्धी सूचना सार्वजनिकरुपमा प्रकाशित गर्नुपर्ने उल्लेख छ ।


क्लिकमान्डु