एफवान सफ्टद्वारा ‘क्विक भुक्तानी’ प्लेटफर्मका प्रथम प्रयोगकर्ताहरु सम्मानित



काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्विक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लेटफर्मको कार्य शुरुवात भएको अधिकारिक घोषणा गरेको छ ।

कम्पनीले यस अवसरमा यसका प्रथम प्रयोगकर्तालाई सम्मान समेत गरेको छ ।

सम्मानित हुनेमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीका बिएल स्टिल प्रालि छन् ।

‘क्विक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो ।

आबद्ध बैंकहरुले आफ्ना ग्राहकलाई यस प्लेटफर्ममार्फत् रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउँछ । भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ ।

‘क्विक भुक्तानी’ यस्तो अनलाइन प्लेटफर्र्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनी र ती कम्पनीसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ ।

सप्लायरले, यो प्लेटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ ।

यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पूर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।

हाल यस क्विक भुक्तानी प्लेटफर्र्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा छन् ।

अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्विक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास एफवान सफ्टले लिइएको छ ।


क्लिकमान्डु