६ महिनालाई पुग्ने औषधि, खाद्यान्न र ३ महिनालाई पुग्ने पेट्रोलियम पदार्थ छ: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले ६ महिनालाई पुग्ने औषधी, ६ महिनालाई पुग्ने खाध्यान्न र ३ महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको बताएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका खतिवडाले अब बजार अनुगमनमा सरकार लाग्ने बताए ।
अस्वभाविक मूल्य बढाउने र कृतिम अभाव गराउनेलाई सरकारले सामाजिक अपराधको रुपमा लिने र सोही अनुसार कारबाहीको दायरामा पनि ल्याउने बताए ।
मन्त्री डा. खतिवडाले मास्कको उत्पादन निजी क्षेत्रले शुरु गरिसकेको भएर अब बजारमा मास्कको अभाव हुन नदिने जानकारी गराए ।
मास्कको पनि वर्गिकरण हुने भएकाले बढी जोखिम बहन गर्नेहरुले लगाउनु मास्कको विषयमा स्वास्थ्य मन्त्रालयले सुसुचित गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।
बैठकमा निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको मन्त्रीको भनाइ छ ।
भारतले केही औषधिजन्य वस्तुको निर्यातमा रोक लगाएको भन्दै त्यसको लागि वार्तामार्फत ति वस्तुहरु भन्सार बिन्दुबाट पहिलो छुटाउने र कुटनीतिक तहमा वार्ता गरेर आवश्यक वस्तु नेपाललाई अभाव हुन नदिन अनुरोध गर्ने बताए । नेपालमा औषधिको उत्पादनमा जोड दिने पनि उनको भनाइ छ ।
औषधि आफूलाई चाहिने मात्रै खरिद गर्न, ग्यासका सिलिन्डर घरभरी जम्मा गरेर जोखिम नबढाउन उपभोक्तालाई आग्रह गरेका छन् । अहिले दक्षिणबाट आउने आयातामा कुनै अवरोध नभएको र औषधिजन्यमा भारतले केही अवरोध गरेको बाहेक अरु केहीमा पनि समस्या नभएको बताए ।
मन्त्री खतिवडाले भारतबाट हुने आयात स्वाभाविक रुपमा अघि बढेको बताए । दैनिक उपभोग्य बस्तु, इन्धन लगायत केहीमा पनि समस्या नरहेको जानकारी गराए ।
निजी क्षेत्रले पनि यस्ता सामान बेच्दा धेरै नलैजान आग्रह गरिदिनुपर्ने बताए ।
अहिले चीनतर्फको कारोबार घटदै गएकाले तातोपानी र रसुवागढी नाकामा धेरै समयदेखि सामान रोकिएको भन्दै ती सामान सुरक्षित रहने अवस्थासम्म त्यस्तो व्यापारलाई अघि बढाउने विषयमा सुझाव आएको बताए । त्यसका लागि विभिन्न मन्त्रालयसँग बसेर छलफल गर्ने बताए ।
छलफलका क्रममा आन्तरिक उत्पादन बढाउने मौका भएकोले औषधी उत्पादक संघले ८० प्रतिशत उत्पादन गर्ने प्रतिबद्धता जनाएको बताए । त्यसका लागि सरकारले पनि सहयोग गर्ने तर्क गरे ।