२७ करोड खर्च गरेर यसरी सुधार भयो अध्यागमन



अध्यागमन विभागको ८० प्रतिशतभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन्छ । विभागले दिने सेवा प्रवाहको धेरै हिस्सा यहीँबाट हुने भएकाले सुधार गर्दा पनि यसैलाई केन्द्रबिन्दु बनाएर काम गर्छौं ।

विमानस्थलमा रहेको अध्यागमन विभागमा सुधार ल्याउनका लागि तत्कालिन समयमा केही प्रोजेक्टका खाका तयार पार्नका लागि मैले माननीय गृहमन्त्री र अहिले निवृत भइसक्नु भएका गृहसचिव प्रेमकुमार राई दुबै जनालाई मैले सुधारको खाका बनाउँछु, तपाईहरुले बजेटको सुनिश्चितता गरिदिनुपर्छ भनेको थिए, उहाँहरुले त्यसमा मलाई सहयोग गर्नुभयो ।

त्यसका लागि २७ करोड रुपैयाँको बजेट माग गरेका थियौं । जसमा ७ देखि ८ वटा प्रोजेक्ट थिए । जसको नतिजा एकै ठाउँमा पुग्ने खालको थियो । शुरुमा प्रोजेक्ट डिजाइन गर्यौं ।

१) नेपाली फोर्ट सफ्टवेयर

सबैभन्दा पहिले हामीलाई सफ्टवेयर निर्माण गर्नु थियो । जसमा यात्रुका सबै तथ्यांक राख्नका लागि उक्त सफ्टवेयर निर्माण गर्नु थियो । जसका लागि हामीले नेपाली पोर्ट नाम दियौं ।

यो सफ्टवेयर नेपाली इन्जिनियरिहरुले नै बनाउनु भएको हो । जसमा विभागका इन्जिनियरहरुको समन्वयको परिणाम आज सफल भएको छ । यो न्यून लागतमा अधिकतम फिचर भएको सफ्टवेयर बनाइएको हो ।

२) डाटा सेन्टर

दोस्रो प्रोजेक्ट हो डाटा सेन्टर । अब यहाँ भएको सबै डाटा जीआइडीसी र विमानस्थलमा रहेको डाटा सेन्टरमा सुरक्षित हुन्छ । यो बलियो डाटा सेन्टर छ । अब हाम्रोमा सर्भर डाउन भन्ने हुँदैन ।

३) अत्याधुनिक उपकरणहरु

यसमा हामीले अध्यागमनमा अत्याधुनिक उपकरणहरु ल्याएका छौं । जसमा टचस्क्रिन कम्प्युटरहरु, बायोमेट्रिक्स उपकरणहरु, फिंगरप्रिन्ट, आँखाको नानी रिड गर्ने मेसिन आइरिस स्क्यानर र फोटो क्याप्चर गर्ने प्याकेज हो । गत असारसम्म सकाइसकेर तिहारसम्म इन्स्टलको काम पनि सकाइसकेका थियौं ।

४) अत्याधुनिक स्वरुपमा पूर्वाधारमा परिवर्तन

यस प्रोजेक्टमा हामीले पुरानो डेस्कहरु भत्काएर हटायौं । र, सबै नयाँ राख्यौं । यी पूर्वाधार २०÷२५ वर्ष पुराना संरचनाहरु थिए । जसलाई हामीले अटो गेटहरु जडान गर्यौं । अहिले अत्याधुनिक स्वरुपमा पूर्वाधार परिवर्तन गरिसकेका छौं ।

५) हाइ क्यापासिटीको नेटवर्किङ

यस प्रोजेक्टमा नेटवर्किङलाई बलियो बनायौं । जसमा कुनै पनि समय बत्ति नजाने, इन्टरनेट पनि नजाने बनायौं । अब २४औं घण्टा, सातामा ७ वटै दिन नेटवर्किङ चलिरहन्छ । यसमा कुनै पनि अब समस्या छैन ।

६) ल्याव

झण्डै डेढ करोड रुपैयाँमा बेलायतबाट ल्याव ल्याएका छौं । यो अहिले हामीसँग मात्रै छ । यो मेसिनले नक्कली नोट, नक्कली कागजपत्र सबै परीक्षण गर्न सक्छ । र, यो सेक्युरिटीका हिसाबले निकै आवश्यक थियो ।

७) हेटौंडामा डिस्टास्टरका लागि डाटा सेन्टर

काठमाडौंमा भएको डाटा सेन्टर कुनै पनि कारणले बिग्रियो भने त्यसको ब्याकअपका लागि हेटौंडामा डाटा सेन्टर राखेका छौं ।

८) टीएफए

यस अन्तर्गत झण्डै ३ सय जनालाई वर्षभरी तालिम दिएका छौं । जसबाट जनशक्तीहरु लाभान्वित भएका छन् ।

९) जनशक्ति

भिजिट नेपाल २०२० सँग सहकार्य गरी नेपाल आर्मीबाट निवृत भइसकेका १४ जना जुनियर अफिसरहरु परिचालन गरिएको छ । उनीहरुले अहिले लाइन म्यानेजमेन्ट गर्छन् ।

हामीले यस प्रोजेक्ट अन्तर्गत निर्माण गरेको डाटाहरु सबै सरकारी निकायसँग समन्वय गरिएको छ । जस्तैः अपराधीहरुको डाटा इन्टरपोलसँग, वैदेशिक रोजगारको डाटा वैदेशिक रोजगार विभागसँग प्रत्यक्ष जडान भएको छ ।

पर्यटकको तथ्यांक मन्त्रालयसँग, शिक्षामन्त्रालय, कन्सुलर विभागलगायतका सबैसँग पनि आगामी दिनमा प्रत्यक्ष सम्पर्क हुनेछ । नेपालमा रहेको विभिन्न १३ वटा सबै कार्यालयबाट यही सिस्टमबाट भिसा जारी हुन्छ । आगमन र प्रस्थानको नियन्त्रण हुन्छ ।

हामीले कुल २७ करोड रुपैयाँको बजेट भनिए पनि हालसम्म २२ करोड रुपैयाँ खर्च भएको छ भने अब बढीमा ३ करोड गरी २५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । जुन निर्धारण गरिएको बजेटभन्दा कम हो । (कुराकानीमा आधारित)


पुष्प दुलाल