प्रधानमन्त्रीद्वारा राष्ट्रिय आयोजना बैंकको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आयोजना बैंक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरेका छन् ।
आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजना बैंक र सूचना प्रणालीको योजना आयोगको कार्यालय सिंहदरबारमा उद्घाटन गरे ।
विकासका तोकिएका लक्ष्य समयसीमाभित्र प्राथमिकताका आधारमा आयोजना कार्यान्वयनमा आयोजना बैंकले जोड दिनेछ ।
पूर्वतयारी बिना कार्यान्वयनमा लैजाने वर्तमान परिपाटीले समस्याग्रस्त बनेका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको अवस्थामा आयोजना बैंक फलदायी हुने अपेक्षा गरिएको छ ।
बैंकले विशेष गरी राष्ट्रिय आयोजनामा विशेष ध्यान दिनेछ । तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान छनोट तथा मूल्यांकन प्रक्रिया तथा प्राथमिकिकरण गर्ने प्रणालीको विकास र अभ्यास गर्नु बैंकले उद्देश्य लिएको छ ।
साथै आयोजना बैंकले सिद्दान्त र मान्यताअनुरुप प्रदेश र स्थानीय तहमा समेत त्यस्तो प्रणालीको स्थापना गर्न आवश्यक सहजीकरण गर्नेछ ।
आयोजना बैंकको शुरुवातसँगै आगामी दिनमा प्रत्येक मन्त्रालयमा आयोजना बैंकको सम्पर्क व्यक्ती तोकी अभिमुखिकरण तालिम समेत समपन्न भइसकेको छ ।
बैंकले संघीय सरकारबाट सञ्चालित तथा नयाँ आयोजनाहरुलाई आयोजना पूर्वतयारीका कार्यहरु सम्पन्न गरी कार्यान्वयन योग्य आयोजनाहरु आयोजना बैंकमा प्रविष्ट गर्ने र त्यस्ता आयोजनाहरु मात्र मध्यकालिन खर्च संरचनामा समावेश गरी वार्षिक बजेट बिनियोजनको व्यवस्था मिलाउनेछ ।
साथै, आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाइ, प्राथमिकता तथा राष्ट्रिय आवश्यकताका आधारमा राज्यको सीमित स्रोत साधनको महत्व उपयोग गर्न, आयोजनालाई तोकिएको गुणस्तर, परिमाण, समय र निर्धारित लागतमा सम्पन्न गर्न, सार्वजनिक वित्तीय अनुशासन कायम गर्न, लगानीका थप अवसर जुटाउन र आयोजना कार्यान्वयनमा कुशलता हासिल गर्न बैंक सहयोगी हुने अपेक्षा गरिएको छ ।