पोखरामा राष्ट्र बैंकका उच्च अधिकारी र बैंकका सीइओ भेला हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकका प्रतिनिधिहरुलाई र राष्ट्र बैंकका विभागिय प्रमुख र अधिकृतहरुलाई पोखरामा भेला गराउने भएको ।

राष्ट्र बैंकले हालै ल्याएको सिस्टम सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआइएस) को तालिम दिनका लागि शनिबार पोखरामा भेला बोलाएको हो ।

राष्ट्र बैंकले विभागीय रिपोर्टिङ सिस्टमलाई सहज बनाउन ल्याएको उक्त सिस्टम अहिले वाणिज्य बैंकहरुमा पाइलट टेस्टिङ गराइरहेको छ । पाइलट टेस्टिङ पुस २३ गतेसम्म वाणिज्य बैंकहरुमा मात्र गरिने राष्ट्र बैंकले जनाएको छ । पाइलट टेस्ट सकिएपछि एसआइएस सिस्टम सबै बैंक तथा वित्तीय संस्थामा लागू हुनेछ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको विभिन्न विभागमा छुट्टाछुट्टै रिपोर्ट गर्दै आएका छन् । यो सिस्टम लागू भएपछि बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै रिपोर्ट गर्नु पर्दैन । सो सिस्टममा आफ्नो कारोबारको वा अन्य विवरण अपलोड गरिदिएपछि राष्ट्र बैंकका सबै विभाग आफ्नो आवश्यकता अनुसार आफै विवरण लिनेछन् ।

आफ्ना विभागिय अधिकारी र बैंक तथा वित्तीय संस्थाका सीइओ र प्रतिनिधिहरुलाई एसआइएस सिस्टमको रिपोर्टिङ सिस्टममा काम गर्न तरिकाबारे पोखरामा तालिम दिन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु