बीमा क्षेत्रमा कालोधन रोक्न समितिले सफ्टवेयर बनाउने, बीमा सूचना केन्द्रको स्थापना हुने
काठमाडौं । बीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न तथा बीमामा आउने कालोधनमा बन्देज लगाउन बीमा समितिले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
त्यसका लागि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा ३ सदस्यीय अध्यय समिति गठन भएको छ ।
पौडेल संयोजकत्वमा गठित समितिको सदस्यमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खत्री र प्रभु इन्स्योरेन्सका सिइओ संञ्चित बज्राचार्य छन् ।
सूचना केन्द्र स्थापना गर्नका लागि जीवन बीमा संघ र निर्जीवन बीमा संघसँग छलफल भइएसकेको पौडेलको भनाइ छ ।
अहिले निर्जीवनमा भन्दा पनि जीवन बीमा क्षेत्रमा कालोधन भित्रिएको चर्चा रहेको छ ।
‘बीमा क्षेत्रमा भित्रिएको कालोधनलाई सफ्टवयेरले ट्रयाकिङ गर्छ, व्यक्तिको आयस्रोतलाई पनि हेर्नेछ, त्यसले गर्दा बीमामा कालोधन रोकिने अपेक्षा गरेका छौं,’ उनले भने ।
अहिले एकै व्यक्तिले विभिन्न कम्पनीमा जीवन बीमा गर्ने गरेका छन् । एकै व्यक्तिले धेरै जीवन बीमा कम्पनीमा थोरै–थोरै रकमको बीमा गर्दा धेरै रकम खर्च हुन्छ । बीमा सूचना केन्द्रले पूर्णता पाएपछि यो रोकिने उनको दाबी छ ।
यसले बीमितको आयस्रोतदेखि कतिवटा कम्पनीमा बीमा गरेको, भनेर पनि जानकारी राख्नेछ । एकै व्यक्तिको नाममा विभिन्न बीमा कम्पनीमा जारी हुने पोलिसी पनि न्यून हुने अपेक्षा समितिको रहेको छ ।
पौडेल सूचना केन्द्रमा सबै बीमा कम्पनीहरुलाई सहभागी गराउने बताए । उक्त केन्द्र स्थापना भएपछि बीमा क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने उनको भनाइ छ ।
अहिले बीमा क्षेत्रमा विभिन्न फ्रड भएका छन, ती फ्रड कम हुन्छन्, अभिकर्ता, सर्भेयरलाई पनि ट्रयाकिङमा आउने, बीमा क्षेत्रमा कालोधन आउने गरेको भन्ने चर्चा रहेको र त्यसमा पनि कमी आउने उनको भनाइ छ ।
‘हामी यसको लागि सफ्टवेयर पनि बनाउँछौं, सफ्टवेयरले सबैलाई जिम्मेवार बनाउनेदेखि दाबी भुक्तानीमा पनि देखिएको समस्या समाधान हुनेछ,’ उनले भने ।
यसको लागत अहिले नै तय नभए पनि यसमा सबै बीमा कम्पनीको सहभागीता रहने समितिले जनाएका छ । लागत सबै जीवन तथा निर्जीवन बीमा कम्पनीले बहन गर्नेछन् भने केही प्रतिशत बीमा समितिले व्यहोर्ने छ ।
यसले कसरी काम गर्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको छ । केही समयमा नै यसको मोडालिटी तयार हुने पौडेलले बताए । यसले बीमा क्षेत्रमा देखिएका सामान्यदेखि जटिलखालका समस्या पनि सहजै समाधान हुनेछ ।