सिडिएससीबाट बिदा भए सीइओ गुप्ता, सापकोटालाई कामूको जिम्मेवारी
काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवप्रकाश गुप्ता बिदा भएका छन् । उनी बिदा भएपछि सिडिएससीमा कार्यबाहक जिम्मेवारी कञ्चन सापकोटालाई जिम्मेवारी दिइएको छ ।
सीइओ गुप्ताको कार्यकाल कात्तिक ९ गते सकिएको हो । कात्तिक ९ गते कार्यकाल सकिए पनि गुप्ता आइतबारसम्म कार्यबाहक थिए । उनी आइतबारबाट बिदा भएपछि सोमबारबाट सिडिएससीमा कार्यरत आठौं तहकी सिनियर कर्मचारी सापकोटालाई कार्यबाहकको अधिकार दिइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
सिडिएससीमा नयाँ सीइओ ल्याउने वा तत्कालका लागि प्रबन्ध सञ्चालकको भरमा नै चलाउने भन्ने विषयमा नेप्सेमा छलफल शुरु भएको छ ।
सीइओ नियुक्त नभएमा प्रबन्ध सञ्चालक राख्नसक्ने पनि प्रबन्धपत्र नियमावलीमा व्यवस्था गरिएको बताइएको छ । नयाँ सीइओका लागि आवेदन खुला गर्ने हो वा प्रबन्ध सञ्चालक राखेर काम चलाउने भन्ने अधिकार सञ्चालक समितिको हातमा छ ।
उक्त सञ्चालक समितिका नेप्सेका सीइओ अध्यक्ष र नेप्सेकै तीन जना कर्मचारी सदस्य छन् ।
स्रोतका अनुसार माथिल्लो निकाय (अर्थ मन्त्रालय)बाट अहिले सीइओ नियुक्त गर्नुपर्दैन् । दक्ष व्यक्तिलाई प्रबन्ध सञ्चालकमा नियुक्त गर्नु भन्ने सन्देश पाएमा नेप्से सोही अनुसार अघि बढने छ ।
स्रोतले भन्यो, ‘माथिल्लो निकायबाट सिडिएससीमा सीइओ नियुक्त गर्नु भनेको खण्डमा सार्वजनिक सूचना निकालेर प्रक्रियामा जाँदा २ महिना लाग्ला, प्रबन्ध सञ्चालक नियुक्त गर्नु भने बढीमा दुई सातामा लाग्छ ।’
सीइओको कार्याअवधि ४ वर्ष हुने व्यवस्था छ भने प्रबन्ध सञ्चालकको समयावधि कति समय हुने भन्ने नेप्सेको निर्णयमा पनि भर पर्ने स्रोतको भनाइ छ ।