पैसा तयार पार्नुहोस्, चैत १ देखि स्टान्डर्ड चार्टर्डको एफपिओ आउँदैछ
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आगामी साता अर्थात् चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बैंकले जारी गरेको सो एफपिओ चैत ४ गतेसम्म मात्रै किन्न पाइने छ ।
बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।
बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरका २५ लाख ५८ हजार १ सय १० कित्ता एफपिओ जारी गर्न लगेको बैंकका कर्पोरेट मामिला प्रमुख दिवाकर पौडेलले क्लिकमाण्डूलाई जानकारी दिए ।
बैंकलाई एफपिओ जारी गर्न महिना दिनअघि नियामक धितोपत्र बोर्डले अनुमति दिएको थियो ।
केही समयअघि नै एफपिओ जारी गर्ने बैंकको योजना भएपनि बैंकिङ प्रणालीमा रहेको तरलता अभाव र बजारमा अन्य कम्पनीको एफपिओ आएकाले धितोपत्र बोर्डको अनौपचारिक आग्रहअनुसार नै केही ढिलो गरी एफपिओ निष्काशन गर्न लागिएको पौडेलले जानकारी दिए ।
बैंकले एफपिओबाट उठेको पैसा र आर्थिक वर्ष ०७३\७४ को नाफाबाट १०० प्रतिशत बोनस सेयर वितरण गरी राष्ट्र बैंकको निर्देशन अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना सार्वजानिक गरिसकेको छ ।
गत वर्षको नाफाबाट बैंकले चालू आर्थिक वर्षमा ३३.३३ प्रतिशत बोनस सेयर दिएको छ । सो बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
अहिलेको निरन्तरको घट्दो बजारका कारण बैंकलाई एफपिओका तोकेको मूल्य पुष्टि गर्नुपर्ने चुनौती देखापरेको छ ।
किनभने अहिले बैंकको प्रतिकित्ता सेयरमूल्य १९ सय ८० रुपैयाँमा सेकेन्डरी बजारमा किन्न पाइन्छ । घन्टौं लाइन बसेर एफपिओ हाल्दा अत्यन्तै न्यून मात्रै पर्ने अवस्था छ ।