पोखराको माउन्टेन ग्लोरी रिसोर्टले ६४ करोड ऋण लिएर पूर्वाधारमा लगानी गर्ने



काठमाडौं । पोखरास्थित माउन्टेन ग्लोरी रिसोर्टले भौतिक संरचना थप गर्न ६४ करोड रुपैयाँ ऋण लिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्टले पूर्वाधार विस्तार गर्न लागेको हो । पर्यटकीय दृष्टिले आकर्षक केन्द्र मानिने पोखरामा पर्यटकको आगमन बढ्ने अनुमानसहित रिसोर्टले थप लगानी गर्ने भएको हो ।

रिसोर्टले हालै अत्याधुनिक सेवा सुविधा सहित ६४ वटा रुम निर्माण गरेको छ । रिसोर्टमा स्वीमिङ पुल, स्पा, कन्फरेन्स हलका साथै अन्य सुविधाहरु थप गरिएको छ । जसका लागि कम्पनीले १ अर्ब १७ करोड ३० लाख रुपैयाँ लाग्ने छ ।

कम्पनीमा अहिले ऋण र पुँजीको अनुपात ५५ः४५ छ ।

होटल सन् २०१८ को अक्टोबर २८ गते सञ्चालनमा आएको थियो । तत्कालिन समयमा होटलमा २४ वटा रुम थिए ।

होटल आगामी डिसेम्बरदेखि पूर्ण सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

होटलको निर्माण सन् २०१४ को नोभेम्बरदेखि सुरु भएको थियो । जसमा ३५ महिनाको अनुमानित समय तोकिएको थियो । तर निर्माणमा १ वर्ष ढिलाइ भएको थियो । तत्कालिन समयमा भूकम्प र नाकाबन्दीका कारण बैंकबाट ऋण लिन ढिलाइ भएको थियो ।

त्यसपछि प्रोजेक्ट निर्माणको खर्च ५७ प्रतिशतले बढेको थियो । सुरुवाती समयमा खर्च प्रारम्भिक डिजाइनमा आधारित थियो । तर पछि विस्तृत डिजाइन भइसकेपछि खर्च बढेको थियो ।

कम्पनीले कुल ६५ करोड रुपैयाँ ऋणमध्ये १५ करोड रुपैयाँ ऋण अझै पनि पाएको छैन । अनुमानित घाटा र कमजोर ऋण भएकाले सुरुवाती वर्षमा घाटामा गएको थियो । सन् २०१९ को जुलाई १६ मा कम्पनीको गियरिङ रेसियो १.४६ गुणा थियो । जुन सन् २०२० मा अझ बढी खराब भएर जाने अनुमान गरिएको छ ।

बजारमा तरलतारको अभावका कारण बढेको ब्याजदरको असर कम्पनीमा देखिएको छ ।

अहिले नेपालमा पर्यटकको संख्या वर्षेनी बढ्दो संख्यामा छ । सन् २०१९ को जनवरीदेखि अक्टोबर महिनासम्म अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको छ ।

होटलमा विभिन्न क्षेत्रका ८ जनाको लगानी छ । जसमा कार्यकारी अध्यक्ष सुनिल भक्त श्रेष्ठ छन् । उनीसँग हाइड्रोपावर, बैंकिङ, हस्पिटालिटी तथा ट्रेडिङको अनुभव छ । अर्का लगानीकर्ता नरेन्द्र प्रजापति निर्देशक छन । उनीसँग ३० वर्षको विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ ।

सन् २००७ मे २४ मा दर्ता भएको रिसोर्ट ७.४२ एकर क्षेत्रफलमा फैलिएको छ । कम्पनीसँग चुक्ता पुँजी ४५ करोड ३० लाख रुपैयाँ छ ।

कम्पनीले ऋण लिनका लागि रेटिङ गराएको हो ।


क्लिकमान्डु