
एजेन्सी । मारुती सुजुकीको बहुप्रतिक्षित ‘२०२६ ब्रेजा’ ले भारत एनक्याप क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ।
यो सफलतासँगै नयाँ ब्रेजा आफ्नो श्रेणीकै (कम्प्याक्ट एसयूभी) सबैभन्दा सुरक्षित गाडीमध्ये एक बन्न सफल भएको छ । भारतमा आधिकारिक रूपमा यो गाडी सार्वजनिक हुन बाँकी छ ।
सुरक्षा परीक्षणका क्रममा नयाँ ब्रेजाले वयस्क सुरक्षातर्फ ३२ पूर्णांकमध्ये ३०.४१ अंक र बालबालिका सुरक्षातर्फ ४९ पूर्णांकमध्ये ४३ अंक प्राप्त गरेको छ। परीक्षणका लागि १.५ लिटर पेट्रोल इन्जिन र ६-स्पीड अटोमेटिक गियरबक्स भएको शीर्ष भेरियन्ट ‘जेडएक्सआईप्लस’को प्रयोग गरिएको भए तापनि यो ५-स्टार रेटिङ ब्रेजा फेसलिफ्टका सबै भेरियन्टहरूमा लागू हुने कम्पनीले जनाएको छ।
विस्तृत रिपोर्ट अनुसार, ‘फ्रन्टल अफसेट डिर्फमेबल ब्यारियर’ टेस्टमा ब्रेजाले १६ मा १४.४१ अंक प्राप्त गर्यो भने ‘साइड मुभेबल डिर्फमेबल ब्यारियर’ टेस्टमा १६ मा १६ अंक नै प्राप्त गरेर पूर्ण अंक हासिल गरेको छ। गाडीले शरीरका अधिकांश महत्वपूर्ण अंगहरूमा राम्रो सुरक्षा प्रदान गर्ने देखिए पनि फ्रन्टल टेस्टमा छाती र खुट्टाको तल्लो भागको सुरक्षालाई भने ‘पर्याप्त’ श्रेणीमा राखिएको छ।
बालबालिका सुरक्षाको क्षेत्रमा पनि ब्रेजाको प्रदर्शन निकै बलियो देखिएको छ। यसले डाइनामिक एसेसमेन्टमा २४ मा २४ र चाइल्ड रिस्ट्रेन्ट सिस्टम जडानमा १२ मा १२ अंक प्राप्त गर्दै पूर्ण स्कोर पाएको छ ।
यद्यपि, गाडीको समग्र मूल्यांकनका क्रममा केही अंक गुमाउँदा बालबालिका सुरक्षाको कुल स्कोर ४३ मा सीमित हुन पुगेको बताइएको छ ।





प्रतिक्रिया