
चितवन । धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ ।
शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र पोटास ९९.१७५ मेट्रिक टन बिक्री भएको छ ।
उहाँले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताए । प्रमुख बगालेले भने, ‘वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज भएको छ । कुन सहकारीले कति मल बिक्री ग¥यो र कति मौजाद बाँकी छ भन्ने सबै विवरण प्रणालीमा स्पष्ट देखिन्छ । कसैले पनि अनियमितता गर्न सक्दैन र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।’
कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा बिक्री भएको छ । भरतपुरमा २३९.१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास वितरण गरिएको छ ।
त्यसैगरी माडी नगरपालिकामा ११५.००० मेट्रिक टन युरिया र ९.५०० मेट्रिक टन पोटास, खैरहनी नगरपालिकामा ९०.१०० मेट्रिक टन युरिया र १९.१०० मेट्रिक टन पोटास, रत्ननगर नगरपालिकामा ७३.९५० मेट्रिक टन युरिया र २४.१०० मेट्रिक टन पोटास, राप्ती नगरपालिकामा ६४.३०० मेट्रिक टन युरिया, ०.७०० मेट्रिक टन डिएपी र १०.२५० मेट्रिक टन पोटास, कालिका नगरपालिकामा ४९.००० मेट्रिक टन युरिया र १४.००० मेट्रिक टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८.५०० मेट्रिक टन युरिया बिक्री भएको कम्पनीले जनाएको छ ।
आपत्कालीन वा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया र ४.०५० मेट्रिक टन डिएपी वितरण गरिएको प्रमुख बगालेले जानकारी दिए । कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ । त्यसअनुसार आवश्यक मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।






प्रतिक्रिया