आत्मदाहका शृङ्खलाबद्ध घटना: एकको मृत्यु, बुद्धनगरको एक गरी दुईजनाको उपचार हुँदै


काठमाडौं । पछिल्लो ७२ घण्टाभित्र काठमाडौं र सर्लाहीमा गरी तीनजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

ती घटनाहरूमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुईजनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
यसैबीच बुद्धनगरमा पनि शनिबार बिहानै आत्मदाह प्रयास भएको छ ।

काठमाडौंको बुद्धनगरमा शनिबार बिहान ४५ वर्षीय आश्विन राउतले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । बिहान अन्दाजी सवा ६ बजे घरको भान्सा कोठामा राउतले शरीरमा आगो लगाएको काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

प्रहरीले तत्कालै उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशत जलेको छ । श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका राउतले आत्मदाह प्रयास गर्नुको स्पष्ट कारण खुलेको छैन । तर, छिमेकीका अनुसार शुक्रबार उनको छोरासँग केही विवाद भएको बुझिएको छ । घटनाका समयमा उनकी श्रीमती र छोरा घरमा थिएनन् ।

सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको अवस्था पनि अत्यन्तै गम्भीर रहेको छ । शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मण्डललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।

‘उहाँको अवस्था क्रिटिकल छ, शरीरका सबै घाउहरू गहिरा छन्,’निर्देशक नकर्मीले भने । हाल उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलले घरबाट करिब २०० मिटर टाढा गएर शरीरमा आगो लगाएका थिए ।’

यसअघि बिहीबार त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको शवलाई थप सुरक्षाका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू) महाराजगञ्ज पठाइएको छ ।

वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीका अनुसार अस्पतालमा शव सुरक्षित राख्ने फ्रिज (मर्चरी चेन) नभएका कारण र परिवारले शव बुझ्न बाँकी रहेकाले शिक्षण अस्पताल पठाइएको हो ।

तीन दिनको अन्तरालमा भएका यी शृङ्खलाबद्ध घटनाहरूले सामाजिक र मानसिक स्वास्थ्यको गम्भीर अवस्थालाई चित्रण गरेको छ । प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।