हिमालयन इन्फ्रास्ट्रक्चरसहित ३ ऋणीको धितो लिलाम गर्दै कामना सेवा विकास बैंक

42
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले हिमालयन इन्फ्रास्ट्रक्चर एण्ड कन्स्ट्रक्सन प्रालि सहित तीन ऋणीको धितोमा रहेको घरजग्गा लिलाम गर्ने भएको छ ।

बैंकले इटहरी, हेटौंडा र गैंडाकोटस्थित ऋणीहरूले लिएको कर्जाको सावाँ–ब्याज भुक्तानी नगरेपछि सात दिने म्याद दिएर लिलामीको सूचना सार्वजनिक गरेको हो ।

लिलाम हुन लागेका सम्पत्तिहरूमा हिमालयन इन्फ्रास्ट्रक्चर (इटहरी शाखा) सँग सम्बन्धित सुमित्रा कार्कीको नाममा रहेको सुनसरीको इटहरी–८ स्थित जग्गा मुख्य रहेको छ ।

त्यस्तै, ऋणी दिपक थापा (हेटौंडा शाखा) को धितो सुरक्षण बापत रजनी बरालको हेटौंडा–११ स्थित सम्पत्ति र देवीकला बराल (कावासोती शाखा) को कर्जाको धितो स्वरूप रहेको गैंडाकोटस्थित कर्ण बहादुर थापाको घरजग्गा पनि जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम गरिने बैंकले जनाएको छ ।

बैंकले पटक–पटकको ताकेता र सार्वजनिक सूचनालाई ऋणीहरूले बेवास्ता गरेपछि धितो लिलाम गर्ने कठोर निर्णय लिएको बताएको छ । इच्छुक बोलपत्रदाताले बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर वा सम्बन्धित शाखा कार्यालयहरूबाट एक हजार रुपैयाँ शुल्क तिरी बोलपत्र फाराम लिन सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम मिति आगामी जेठ २९ गते कार्यालय समयसम्म तोकिएको छ भने प्राप्त बोलपत्रहरू जेठ ३० गते दिउँसो ४ बजे बैंकको केन्द्रीय कार्यालयमा खोलिनेछ ।

लिलामबाट बैंकको सम्पूर्ण बक्यौता असुल नभएमा ऋणीको अन्य सम्पत्तिबाट समेत असुल गरिने र उनीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले चेतावनी दिएको छ ।