इप्पानद्वारा ‘भिजन २०२९’ सहित ५० बुँदे कार्ययोजना सार्वजनिक


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास र निजी क्षेत्रका समस्या समाधानका लागि ‘इप्पान भिजन २०२९’ सहितको ५० बुँदे कार्ययोजना पारित गरेको छ ।

धुलिखेलमा असार १९ र २० गते सम्पन्न नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले संस्थाको गरिमा अभिवृद्धि र ऊर्जा उद्यमीहरूको हितका लागि उक्त रणनीतिक मार्गचित्र पारित गरेको हो ।

इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा बसेको बैठकले ऊर्जा क्षेत्रमा रहेका नीतिगत, कानुनी र प्रक्रियागत अड्चनहरूलाई सम्बोधन गर्न सरकारसँग सशक्त वकालत गर्ने निर्णय गरेको छ ।

पारित कार्ययोजनामा विद्युत् खरिद सम्झौतामा सुधार, नीतिगत स्पष्टता, लगानी तथा वित्तीय सुधार, र प्रसारण पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकोको ड्राफ्ट तयार पार्ने, नेपाल विद्युत् प्राधिकरणमा रोकिएका १६,००० मेगावाट बराबरका आयोजनाहरूको तत्काल खुलाउन पहल गर्ने र पीपीए दर पुनरावलोकन गर्ने योजना अघि सारिएको छ ।

वनको जग्गा प्राप्ति र रुख कटान प्रक्रियालाई एक वर्षभित्र सम्पन्न गर्ने गरी ‘सनसेट ल’ ल्याउन पहल गर्ने र निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको अनुमति दिन माग गरिएको छ ।

आन्तरिक खपत बढाउन उद्योगहरूलाई सस्तो दरमा बिजुली उपलब्ध गराउने, चार्जिङ स्टेसनको विस्तार गर्ने र हरित हाइड्रोजनको अनुसन्धानमा जोड दिने लक्ष्य राखिएको छ ।

ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशत भन्दा कम ब्याजमा ऋण उपलब्ध गराउन र रुग्ण आयोजनाका लागि विशेष पुनरुत्थान प्याकेज ल्याउन राष्ट्र बैंकसँग समन्वय गर्ने इप्पानले जनाएको छ ।

संस्थाको कार्यलाई व्यवस्थित बनाउन इप्पानले विभिन्न १६ वटा विषयगत समिति र उपसमितिहरू गठन गरेको छ । जसमा नीति निर्माण तथा विद्युत् व्यापार समिति (संयोजक: उत्तम ब्लोन लामा), ऊर्जा मन्त्रालय समन्वय समिति (संयोजक: नरेन्द्र बल्लभ पन्त), र बैंक तथा वित्तीय संस्था समन्वय समिति (संयोजक: सुमनकुमारी जोशी) लगायत रहेका छन् ।

त्यस्तै, संस्थाको मुख्य सल्लाहकारमा गणेश कार्की र विज्ञ सल्लाहकार समूहको प्रमुखमा पूर्व सचिव दिनेश कुमार घिमिरेलाई चयन गरिएको छ ।

बैठकले इप्पानको मुख्य कार्यक्रम ‘हिमालय हाइड्रो एक्स्पो’ आगामी २०८३ साल माघ २, ३ र ४ गते (सन् २०२७ जनवरी १६–१८) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय समेत गरेको छ । यो एक्स्पोको पाँचौँ संस्करण हुनेछ ।

इप्पानलाई एक अनुसन्धानमुखी थिंक ट्याङ्कको रूपमा विकास गर्ने र ऊर्जा क्षेत्रको समृद्धिका लागि सरकारी र निजी क्षेत्रबीच बलियो पुलको काम गर्ने प्रतिबद्धता जनाइएको छ ।

अध्यक्ष डाँगीले इप्पानले अघि सारेको भिजन २०२९ कार्यान्वयन भएमा नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।