पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न तेस्रो पटक म्याद थप

अझै ६ दिन प्रहरी हिरासतमै बस्नुपर्ने

63
Shares


काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न तेस्रो पटक म्याद थप भएको छ । ८ असारमा सुर्खेतबाट प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न ९ असारमा विशेष अदालतबाट लिएको अनुमतिको म्याद बुधबार नै सकिएको हो।

आज बिहीबारदेखि फेरि पौडेललाई ६ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न मागेको म्याद थपको आदेश दिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको गर्न भन्दै सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

उनलाई ९ गते अदालतले पहिलोपटक ५ दिन, दोस्रोपटक ३ दिन र तेस्रोपटक ६ दिनको समय दिएसँगै अब पौडेले कम्तिमा १५ दिन प्रहरी हिरासतमै हुने भएका छन् ।