निर्मला पन्त प्रकरण: पुरानो फैसला कार्यान्वयन गर्न पत्रकार खेम भण्डारी पक्राउ

483
Shares


कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका-१८ कटानबाट उनलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार भण्डारीलाई पक्राउपछि स्वास्थ्य परीक्षण गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका विषयमा तथ्यहीन समाचार लेखेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

भण्डारीले आफ्नो सम्पादकत्वमा रहेको ‘मानसखण्ड दैनिक’ र सामाजिक सञ्जालमा समेत विष्टका विरुद्ध सामग्रीहरू सम्प्रेषण गरेका थिए । मुद्दा दायर गर्ने किरण विष्ट पनि पत्रकार हुन् र उनी राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् ।

यस मुद्दामा जिल्ला र उच्च अदालत दुवैले भण्डारीलाई दोषी ठहर गरेका थिए । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले १ जेठ २०८२ मा उनलाई १ महिना कैद, १० हजार जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

जिल्लाको सोही फैसलालाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले २०८२ चैत २२ गते सदर गर्दै थप ७ दिन कैद र २ हजार १०० रुपैयाँ जरिवाना सुनाएको थियो । अदालतको सोही फैसला कार्यान्वयनका लागि उनलाई अहिले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

१० साउन २०७५ मा भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उखुबारीमा मृत फेला परेकी पन्तको हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन । सोही प्रकरणमा विभिन्न व्यक्तिहरूलाई जोडेर समाचार लेखेको भन्दै भण्डारी विवादमा पर्दै आएका थिए ।