ब्रोकरसँग सेबोन अध्यक्ष डा. भट्टले गरे पुँजी बजार सुधारका लागि सहकार्य गर्ने प्रतिबद्धता

308
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपालले भेट गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले डा. भट्टलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा नवनियुक्त अध्यक्ष डा. भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका प्राथमिकताका आधारमा बजारको विकास र सुदृढीकरणका लागि आवश्यक सबै कदम चाल्ने दृढता व्यक्त गरे ।

‘पुँजी बजारको दिगो विकासका लागि नियामक, व्यवसायी, सूचीकृत कम्पनी र लगानीकर्ताबीच आपसी समन्वय हुनु जरुरी छ,’ डा. भट्टले भने, ‘बजारमा सुशासन कायम गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउन बोर्डले सक्रिय भूमिका खेल्नेछ ।’

सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नयाँ नेतृत्वको स्वागत गर्दै बजारको विस्तार र नीतिगत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले लगानीकर्ताको विश्वास अभिवृद्धि र संरचनागत सुधारमा बोर्डको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा दुई पक्षबीच बजेटमा उल्लेखित पुँजी बजारसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा र प्रविधिमैत्री सेवा विस्तारका विषयमा समेत सकारात्मक छलफल भएको थियो । अध्यक्ष डा. भट्टको कार्यकालमा पुँजी बजारले नयाँ गति लिने र देशको आर्थिक विकासमा बजारको योगदान थप प्रभावकारी हुने विश्वास स्टक ब्रोकर एसोसिएसनले व्यक्त गरेको छ ।