
काठमाडौं । कपडामा राखेर अमेरिका पठाउन लागिएको सामानबाट सुनका गरगहना बरामद भएको छ ।
कपडा, साडीलगायतका सामग्री अमेरिका पठाउन लागिएको कार्गो बाकसबाट सुनका गरगहना बरामद भएको हो ।
यो प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा जुत्ता, पाइन्ट, साडी लगायतका कपडाहरु भएको कार्गो बाकसबाट ठूलो मात्रामा सुनका गरहना बरामद भएका हुन् । कपडा भन्दै सुनका गहना अमेरिका पठाउन लागिएपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यी सामानहरु युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको थियो । भन्सार पास भएर आएपछि पनि एक्स–रे जाँचका क्रममा यी गरगहना फेला परेका हुन् ।
२२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थान, त्रिशुल १ थान, नेक्लेस गोलावा ४ थान, नेक्लेस चारपाटे ९ थान, काँडावाला चुरा २६ थान, यार्लिङ सहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र सिक्री १ थान बराद भएको प्रहरीले जनाएको छ।






प्रतिक्रिया