३० करोड लगानीमा अतुल्या स्टिल्सको उद्योग बन्दै, कहिलेसम्म आउँछ सञ्चालनमा ?


काठमाडौं । अतुल्या स्टिलको अधिकांश सिभिल तथा संरचनात्मक निर्माण कार्य सम्पन्न भएको छ ।

नवलपरासी जिल्लाको दुम्कीबासमा निर्माण भइरहेको स्टिल उद्योगको अधिकांश सिभिल तथा संरचनात्मक निर्माण कार्य सम्पन्न भएको हो ।

सन् २०२२ मा दर्ता भएको कम्पनीले जीआई तार र गाबियन वायर उत्पादन गर्ने जनाएको छ । कम्पनीले दैनिक १ सय ६६ मेट्रिक टन तार उत्पादन क्षमताका साथ निर्माण हुने जनाएको छ । कम्पनीले एक सय मेट्रिक टन गाबियन बक्स र ६६ मेट्रिक टन जइआई तार उत्पादन गर्ने रेटिङमा उल्लेख छ ।

कम्पनीले उद्योग निर्माण गर्न ३० करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जसमा कम्पनीले ६५ः३५ ऋण–इक्विटीको अनुपात राखेको छ ।

कम्पनीअनुसार १९ करोड ६० लाख रुपैयाँ कर्जा लिई लगानी गर्नेछ भने १० करोड ६० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्नेछ । हालसम्ममा कर्जा लिई कम्पनीले आयोजनामा लगानी गरिसकेको छ र ५६ प्रतिशत इक्विटीको पनि व्यवस्थापन भइसकेको छ ।

कम्पनीअनुसार आयोजनाले ६४ प्रतिशत वित्तीय प्रगति गरिसकेको उल्लेख छ । हालसम्ममा सिभिल र संरचनात्मक निर्माण कार्य सम्पन्न भइसकेको छ । साथै, कम्पनीले उद्योगको अन्य निर्माण कार्य सम्पन्न गरी इन्स्टलेसन र प्लान्टबाट कारोबार गर्ने योजना बनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका ६० करोड रुपैयाँ रेटिङ गराएको छ । कम्पनीमा दुई जना निर्देशक छन् । कम्पनीको अध्यक्ष अभय शर्मा हुन् ।