राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

आयोग स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो।

अर्यालसँगै व्यवसायी सिद्धार्थ थापालाई पक्राउ गरिएको आयोग स्रोतले जनाकारी दियो । थापा प्रिन्टिङ कम्पनी भेरिडोसका संचालक हुन् ।

अख्तियारले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको स्रोतको भनाइ छ ।

राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीसँग सम्झौता अवधि सकिएसँगै अहिले दुईवटा जर्मन कम्पनी भेरिडोस र मुलबरले राहदानी छपाइको टेण्डर पाएको र सोही खरिद प्रक्रिया प्रकरणमा छानबिनका लागि महानिर्देशक पक्राउ परेको जनाइएको छ ।

२०८२ साउनमा राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच राहदानी छपाइसम्बन्धी सम्झौता भएको थियो । विभागका महानिर्देशक अर्याल र भेरिडोसका प्रतिनिधिबीच राहदानी छपाइसम्बन्धी सम्झौता भएको थियो ।

सम्झौता भएसँगै भेरिडोसले आगामी पाँच वर्षभित्र ६४ लाख प्रति राहदानी छपाइ गर्ने जिम्मेवारी पाएको छ । राहदानी विभागले साउन ६ मा भेरिडोसलाई राहदानी छाप्ने जिम्मा दिने निर्णय गरेको थियो ।

राहदानी छपाइका लागि भेरिडोसले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा कबोल गरेको थियो ।

Skip This