चिया निकासीमा भारतीय अवरोध हटाउन कुटनीतिक पहल आवश्यक, सरकारले चासो नदिएको गुनासो


विराटनगर । भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दुख दिएर निकासी अवरुद्ध गर्दा नेपाली चिया उद्योग गम्भीर संकटमा गुज्रिरहेको भन्दै टी एलायन्स अफ नेपाल (टान) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतीय बजारमा लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण प्रक्रियाका कारण नेपाली चियाको निर्यातमा ठूलो अवरोध सिर्जना भएको भन्दै संस्थाले तत्काल समाधान खोज्न सरकारलाई आग्रह गर्दै समस्याको समाधान नभए असार ४ गतेदेखि सम्पूर्ण चिया प्रशोधन तथा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।

यसअघी भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दु:ख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्‍याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था र्सिजना भएपछि इलामको सुर्योदय अर्थोडक्स टी प्रोडुसर्स एशोसिएसनले विज्ञप्ती जारी गर्दै इलामका ५६ वटा चिया उद्योग सोमबारदेखि बन्द गरिसकेको छ ।

त्यसैगरी उद्योगीले बुधबारदेखि झापाका ३० वटा उद्योग पनि बन्दको घोषणा गरिसकेका छन् ।

इलामका ५६ र झापाका ३० वटा चिया उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।

टी एलायन्स अफ नेपालले प्रेस विज्ञप्ती जारी गर्दै भारतीय पक्षले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियाले नेपाली चिया निर्यातमा ढिलाइ, दोहोरो परीक्षण, उच्च लागत तथा भण्डारण समस्याहरू निम्त्याएको जनाएको छ । यसले उद्योगी, किसान र श्रमिक सबैलाई प्रत्यक्ष असर पुर्याएको उल्लेख गरेको छ ।

नेपालका चिया उद्योगहरूमा ठूलो परिमाणमा तयारी चिया मौज्दात रहे पनि नियमित निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह प्रभावित भएको र निर्यात अवरुद्ध हुँदा किसानहरूले हरियो पत्तीको भुक्तानीसमेत समयमा प्राप्त गर्न नसकेको विज्ञप्तीमा उल्लेख छ ।

समस्या दीर्घकालीन रूपमा समाधान हुन नसके हजारौं किसान परिवार, चिया उद्योगमा कार्यरत श्रमिक तथा ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पर्नेछ । संस्थाले गुणस्तर परीक्षण र खाद्य सुरक्षाको आवश्यकता स्वीकार गरे पनि परीक्षण प्रक्रिया वैज्ञानिक, व्यवहारिक, जोखिममा आधारित तथा व्यापारमैत्री हुनुपर्नेमा टी एलायन्स अफ नेपालले जोड दिएको छ ।

गुणस्तर परीक्षणका नाममा अनावश्यक ढिलाइ र अतिरिक्त आर्थिक भार सिर्जना गर्न नहुने टानको विज्ञप्तीमा भनिएको छ ।

वर्तमान परिस्थितिमा उद्योग सञ्चालन गर्न अत्यन्त कठिन बन्दै गएको र किसानलाई हरियो पत्तीको भुक्तानीसमेत प्रभावित हुने अवस्था सिर्जना भएकाले टी एलायन्स अफ नेपालमा आवद्ध उद्योगहरू असार ४ गतेदेखि चिया प्रशोधन तथा उद्योग सञ्चालन बन्द गर्न बाध्य हुने अवस्था आएको विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।

टी एलायन्स अफ नेपालले नेपाल सरकार, सम्बन्धित मन्त्रालयहरू तथा कूटनीतिक निकायहरूलाई समस्याको दिगो समाधानका लागि भारतीय सरकारसँग आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेको छ । साथै नेपाली चियाको निर्यातलाई सीमित बजारमा मात्र निर्भर नराखी युरोप, अमेरिका, चीन, जापान, कोरिया तथा मध्यपूर्वलगायतका अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न दीर्घकालीन रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

यो संकट केवल उद्योगीहरूको मात्र नभई सम्पूर्ण नेपाली चिया क्षेत्रको साझा चुनौती भएको टी एलायन्स अफ नेपालले जनाएको छ । समस्या समाधानका लागि सरकार, निजी क्षेत्र, किसान तथा सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको संस्थाको भनाइ छ ।

नेपालको पूर्वी पहाडी जिल्ला इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा केन्द्रित चिया उद्योगले हजारौं किसान तथा श्रमिकलाई रोजगारी प्रदान गर्दै आएको छ ।

चिया नेपालको महत्वपूर्ण निर्यातजन्य कृषि उत्पादनमध्ये एक हो । यस्तो अवस्थामा निर्यात अवरोध लम्बिँदै जाँदा चिया क्षेत्रको समग्र उत्पादन, बजार र किसानको आम्दानीमा प्रतिकूल प्रभाव पर्ने चिन्ता बढेको छ ।

टी एलायन्स अफ नेपालले नेपाली चिया क्षेत्रको दीर्घकालीन हित, किसान संरक्षण, उद्योगको दिगोपन तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यसैवीच नेपाली चिया निर्यातमा देखिएको अवरोधले उद्योग, किसान र निर्यात व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै निर्यात व्यवसायी महासंघ नेपालले पनि सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले भारतीय पक्षबाट सिर्जना गरिएका गैर–भन्सार अवरोधका कारण नेपाली चिया निर्यात लगभग ठप्प भएको जनाएको छ ।

महासंघद्वाराजारी प्रेस विज्ञप्तीमा नेपालको अर्थतन्त्र, वैदेशिक मुद्रा आर्जन तथा विशेषगरी पूर्वी पहाडी क्षेत्रको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको चिया क्षेत्र अहिले अभूतपूर्व चुनौतीको सामना गरिरहेको उल्लेख छ ।

भारतीय चिया बोर्डले हालै लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्युर तथा प्रत्येक खेपमा अनिवार्य परीक्षणको व्यवस्थालाई अव्यावहारिक र व्यापारमैत्री नहुँदा नेपालबाट भारततर्फ हुने चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको विज्ञप्तीमा उल्लेख छ ।

महासंघले नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादनका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पटक–पटक गरिने परीक्षण र प्रशासनिक जटिलताले हजारौं किसान, उद्योगी तथा निर्यात व्यवसायीहरू प्रभावित भएको जनाएको छ । यसबाट पूर्वी नेपालको ग्रामीण अर्थतन्त्रमा समेत प्रत्यक्ष असर महासंघको बुझाइ छ ।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सम्बन्धित निकायहरूलाई तत्काल पहल गर्न आग्रह गरेका छन् । उनले समस्या समाधानका लागि कूटनीतिक तथा व्यापारिक तहमा प्रभावकारी संवाद आवश्यक रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

नेपाल–भारत वाणिज्य सचिवस्तरीय तथा प्राविधिक संयन्त्रमार्फत तत्काल बैठक बोलाई समस्या समाधान गर्नुपर्ने, भारतीय समकक्षी निकायसँग उच्चस्तरीय कूटनीतिक संवाद गरी चिया निर्यातलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने तथा नेपाल सरकारले जारी गर्ने गुणस्तर प्रमाणीकरणलाई भारतले मान्यता दिनुपर्ने माग महासंघको छ ।

महासंघले चिया क्षेत्रको वर्तमान संकट केवल व्यापारिक समस्या मात्र नभई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र कृषकको जीविकासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको समाधानमा सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी तथा निर्यात विविधीकरणमा समेत विशेष ध्यान दिन माग गरेको छ ।

भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्त परीक्षणका नाममा भारत पुगेको झण्डै दुईलाख किलो चिया बजारमा निकाल्न नदिएर आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा मंगलबारसम्म १२ लाख किलो भन्दाबढी चिया उद्योगमै कुहिने अवस्था आउदा पनि सरकारले निकसी सहजताकालागि कुनै कुटनीतिक पहल नगरेको भन्दै उद्योगीले उद्योग नै बन्दको विकल्प रोजेका हुन् ।

‘नेपाली चियाले विगतका वर्षहरुदेखि निकासीमा विभिन्न समस्या भोग्दै आएको सर्वविदित नै छ । हालै मात्र भारतीय चिया बोर्डले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) जारी गरेपछि नेपाली चिया निर्यातमा झन ठुलो बाधा पुगेको छ,’ सुर्योदय अर्थोडक्स टी प्रोडुसर्स एशोएिसनको विज्ञप्ती विज्ञप्तीमा उल्लेख छ ।

गत बैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो ।

त्यसको व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । पराजुलीले भने तर भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामवाट वाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्णरुपमा ठप्प भएपछि उद्योग नै बन्द गर्नु परेको गुनासो चिया उत्पादक संघका अध्यक्ष पराजुलीको छ ।

चालु आर्थिक वर्षको वैशाख सम्ममा ३ अर्ब ३५ करोड मूल्य वरावरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । गतवर्ष ४ अर्ब ५९ करोड मूल्यको १५ हजार ६ सय टन चिया निकासी भएको निकासी प्रवद्धन केन्द्रको तथ्यांक छ ।

Skip This