
एजेन्सी । बुधबार बिहान भारतको राजधानी दिल्लीको मालवीय नगरस्थित एउटा होटलमा आगलागी हुँदा १७ जना विदेशी नागरिकसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । अन्य करिब ३७ जनाको उद्धार गरिएको छ ।
अधिकांश पीडितहरू लाइबेरिया, नाइजेरिया, मोजाम्बिक र बंगलादेशका थिए । आगलागी बिहान करिब ८ः५० बजे फ्लोरिस स्टे होटलको रेस्टुरेन्टबाट सुरु भएको थियो । त्यो पाँचतले भवनको बेसमेन्टमा रहेको बताइएको छ । आगो पछि नजिकैको अर्को होटल मिकासा इनमा पनि फैलिएको थियो ।
एक अधिकारीले बताएअनुसार, बाक्लो बस्ती भएको र विद्यार्थी तथा युवा पेशाकर्मीहरूमाझ लोकप्रिय रहेको यस आवासीय क्षेत्रबाट आपतकालीन सूचना प्राप्त भएपछि दुईवटा वाटर इन्जिन, दुईवटा वाटर बाउजर, एउटा क्विक–रेस्पोन्स भेहिकल र अन्य अग्नि नियन्त्रक एकाइहरू घटनास्थलमा पठाइएको थियो ।
एउटा भिडियोमा केही मानिसहरू आफ्नो ज्यान जोगाउन जलिरहेको भवनबाट हामफालिरहेको देखिएका छन् । मानिसहरू खस्दा चोट नलागोस् भन्नका लागि जमिनमा डस्नाहरू बिछ्याइएको थियो ।
‘मैले चार देखि ६ जना मानिसहरूलाई सिसा फुटाएर आगोबाट बच्न भवनबाट हामफालिरहेको देखें । खसेपछि एक व्यक्तिको खुट्टा भाँचिएको जस्तो देखिन्थ्यो,’ एक प्रत्यक्षदर्शीले पत्रकारहरूलाई बताए ।
लभकेश बजाजको स्वामित्वमा रहेको यो होटल हौज रानीको साँघुरो गल्लीमा अवस्थित थियो र यसमा करिब २५ वटा कोठाहरू थिए ।
रिपोर्टअनुसार होटलमा ४० भन्दा बढी पाहुनाहरू थिए, जसमा उपचारका लागि राष्ट्रिय राजधानी आएका विदेशीहरू पनि सामेल थिए ।
आगलागी हुँदा होटलका अधिकांश पाहुनाहरू सुतिरहेको बताइएको छ ।
फ्लोरिस स्टेलाई दिल्ली सरकारले बेड एन्ड ब्रेकफास्ट अवधारणा अन्तर्गत इजाजतपत्र दिएको थियो । यस अनुमति अन्तर्गत केवल ६ वटा कोठा सञ्चालन गर्न पाइन्थ्यो । तर, होटलले बेसमेन्टका कोठाहरूसहित २५ वटा कोठाहरू सञ्चालन गरिरहेको बताइएको छ ।
दमकल विभागको प्रारम्भिक अनुसन्धानले होटलसँग वैध फायर एनओसी (अग्नि सुरक्षा प्रमाणपत्र) नभएको फेला पारेको छ । एक वरिष्ठ अधिकारीले यस क्षेत्रका धेरै होटलहरू अग्नि सुरक्षा अनुमति बिना नै सञ्चालनमा रहेको बताए ।
होटलमा प्रवेश र बाहिर निस्कने एउटा मात्र बाटो थियो । दिल्ली दमकल सेवाका मुख्य दमकल अधिकारी एके मलिकले यसै कारण आगो तीव्र रूपमा फैलिएको बताए । उनले भवनमा झ्यालहरू पनि नभएको थपे ।
‘यो पाँचतले भवन थियो । बेसमेन्टमा पनि मानिसहरू बसिरहेका थिए । बेसमेन्ट शटरले बन्द गरिएको थियो ।
दमकलकर्मीहरूले भित्र पस्न शटर काट्नुपर्यो । त्यहाँ भित्र ६ जना मानिसहरू फेला परेका थिए,’ मलिकले एनडीटीभीलाई भने ।
कुल १७ वटा दमकल परिचालन गरिएको थियो र ३७ जनाको उद्धार गरिएको उनले बताए । आगलागी बेसमेन्टबाट सुरु भएर माथिल्ला तलाहरूमा फैलिएको उनले थपे ।
लभकेश बजाज र उनका साझेदारहरूको सोही क्षेत्रमा तीनवटा होटलहरू छन् ।
छिमेकी होटल मिकासा इनमा काम गर्ने शेफ केसर सिंहले आफूले इलेक्ट्रिक चुलोमा चिया बनाइरहेको बेलाको घटना सम्झिए ।
‘मैले अचानक ठूलो विस्फोटको आवाज सुनें,’ उनले भने ।
उनले पछि त्यहाँ आगो लागेको देखेको बताए ।
‘जब म बाहिर निस्किएँ, मैले पूरा होटलमा आगो लागेको देखें । म कुनै न कुनै रूपमा उम्कन सफल भएँ,’ नेगीले भने ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीको घटनामा भएको मानवीय क्षतिलाई दुःखद भन्दै पीडितका परिवारलाई २ लाख भारु सहयोगको घोषणा गरेका छन् ।
‘आफ्ना प्रियजन गुमाएकाहरूप्रति मेरो समवेदना छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु । अधिकारीहरूले प्रभावितहरूलाई सम्भव भएसम्म सबै सहयोग प्रदान गरिरहेका छन्,’ उनको कार्यालयले एक्समा पोस्ट गरेको छ ।
उनले घाइतेहरूलाई ५० हजार भारु दिइने पनि बताए ।
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मानवीय क्षतिप्रति आफू मर्माहत भएको बताइन् ।
‘शोकसन्तप्त परिवारजनप्रति मेरो हार्दिक समवेदना छ । म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि र यस हृदयविदारक त्रासदीबाट प्रभावित सबैका लागि शक्ति र साहसको प्रार्थना गर्छु,’ उनले एक्समा लेखेकी छन् ।
घटनाको जानकारी पाउनेबित्तिकै दिल्ली दमकल सेवा, दिल्ली पुलिस, डीडीएमए, क्याट्स एम्बुलेन्स सेवा र अन्य आपतकालीन प्रतिक्रिया एजेन्सीका टोलीहरू परिचालन गरी उद्धार र राहत कार्य सुरु गरिएको गुप्ताले बताइन् ।





प्रतिक्रिया