सामान्य बिरामीलाई ‘इमर्जेन्सी’ देखाएर बीमा दाबी नगर्न निजी अस्पताललाई सरकारको चेतावनी

140
Shares

काठमाडौं । सामान्य बिरामीलाई पनि आकस्मिक किसिमको (इमर्जेन्सी) उपचार गरेर स्वास्थ्य बीमा दाबी नगर्न सरकारले निजी अस्पतालहरूलाई चेतावनी दिएको छ ।

निजी अस्पतालमा आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने सरकारले स्पष्ट पारेको हो ।

स्वास्थ्य बीमा बोर्डले सोमबार सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको नाममा सूचना जारी गर्दै भनेको छ, ‘सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरुको भुक्तानी नगरिने…।’

कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न र त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भएमा उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न बीमा बोर्डले भनेको छ ।

आम सेवाग्राहीहरुलाई समेत यस सूचनाको पूर्ण पालना गर्न र सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि दबाब सिर्जना नगर्न समेत बोर्डले निजी अस्पतालहरूलाई सचेत गराएको छ ।