
एजेन्सी । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले घरपरिवारलाई जीवनयापनको लागतमा सहयोग गर्न पूरक बजेट तयार गरिरहेकी छन् । तर, यसले ऋण निष्काशनसम्बन्धी आफ्ना वाचाहरूमा उनी अडिग रहन सक्छिन् कि सक्दिनन् भन्ने कुरामा शंका पनि पैदा गरेको छ ।
लगभग ३० खर्ब येनको यो बजेट धेरै हदसम्म बजारको अपेक्षा अनुरूप नै थियो । तर, यो यस्तो समयमा आएको छ जब जापान अझै पनि ऊर्जाको उच्च मूल्य, बढ्दो अनुदान लागत र कमजोर येनसँग जुधिरहेको छ ।
यस बजेटले थप खर्च आवश्यक नरहेको ताकाइचीको पहिलेको अडानबाट पछि हटेको संकेत पनि गर्छ । ब्लुमबर्गका अनुसार, उनले सन् २०२६ को क्यालेन्डर वर्षका लागि कुल ऋणपत्र निष्काशनको मात्रा मूल बजेट योजनाभन्दा परिवर्तन नहुने पनि बताएकी छन् ।
थप खर्चको व्यवस्थापन घाटा पूर्ति गर्ने ऋणपत्रहरू जारी गरेर गरिने भन्दै ताकाइचीले ऋणपत्र बजारको चिन्तालाई हटाउने प्रयास गरेकी छन् । तर, सरकारले पूरक बजेटका लागि नयाँ ऋण जारी गर्न सक्ने रिपोर्टहरू आएपछि मे २० मा १० वर्षे जापानी सार्वभौम ऋणपत्रको प्रतिफल बढेर २.८०९ प्रतिशत पुग्यो । यो सन् १९९६ पछिको उच्च विन्दु हो ।
टोकियोस्थित वित्तीय सेवा कम्पनी मोनेक्स ग्रुपका विज्ञ निर्देशक जेस्पर कोलले भने, ‘ऋणपत्र बजार धेरै कुरा हुन सक्छ, तर यो मूर्ख छैन,’ उनले थपे, ‘तपाईंले ऋण नबढाइकन खर्च बढाउन सक्नुहुन्न ।’
ताकाइचीले क्यालेन्डर वर्षको समयसीमा प्रयोग गरेको विषयले जापानका मामिलालाई नजिकबाट नियाल्नेहरूको ध्यान खिचेको छ ।
‘जापानमा कसैले पनि कहिल्यै क्यालेन्डर वर्षको आधारमा नीति बनाएको छैन,’ कोलले ऐतिहासिक रूपमा देशको आर्थिक वर्ष मार्च ३१ मा समाप्त हुने उल्लेख गर्दै भने, ‘कहिल्यै कुनै खतराको संकेत हुन्छ भने यो त्यही नै हो ।’
१० वर्षे ऋणपत्रको प्रतिफल चार दशकयताकै उच्च विन्दुमा पुग्नुका साथै ३० वर्षे ऋणपत्रको प्रतिफल पनि ४ प्रतिशतभन्दा माथि पुगेको छ । त्यसले वित्तीय जोखिम मात्र नभई मुद्रास्फीतिको दबाबप्रति पनि बढ्दो चिन्ता झल्काउँछ ।
जुलियस बेरका एसियाका लागि इक्विटी अनुसन्धान विश्लेषक लुइस चुवाले भने, ‘मध्यपूर्वमा जारी अनिश्चितता, वस्तुहरूको बढ्दो मूल्य र इन्धन अनुदानमा भएको वृद्धिसहितका हालैका घटनाक्रमहरूले यस वर्ष जापानको वित्तीय अवस्थाको बारेमा ऋणपत्र बजारमा चिन्ता बढाउन भूमिका खेलेका छन् ।’
सरकारले कुनै अतिरिक्त ऋणपत्र निष्काशन नगर्ने आश्वासनसहितको सानो प्याकेज ल्याउनुको साटो १०० खर्ब येनको ऋणपत्रबाट वित्तपोषित १०० खर्ब येनकै बजेट खुला रूपमा घोषणा गरेको भए लगानीकर्ताहरूमा बढी विश्वास हुने थियो भनी कोलले बताए ।
‘पहिलो कुरामा वास्तवमै मानिसहरू विश्वास गर्छन्,’ कोलले भने, ‘दोस्रो कुरामा कसैले विश्वास गर्दैन ।’
तर, सबै विश्लेषकहरूले यस प्याकेजलाई नकारात्मक रूपमा हेरेका छैनन् ।
स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टका एसिया प्यासिफिक अर्थशास्त्री कृष्ण भीमवारापुका अनुसार, उक्त कम्पनी जापानको अर्थतन्त्र र बजार दुवैमा संरचनात्मक रूपमा आशावादी रहेको छ ।
‘यो पूरक बजेट बृहत् प्रोत्साहन भन्दा पनि इरान द्वन्द्वसँग सम्बन्धित ऊर्जा–सञ्चालित मूल्य दबाबको सामना गरिरहेका घरपरिवारका लागि लक्षित सहयोग जस्तो देखिएको छ ।’
‘यसले ठूलो मात्रामा माग बढाउने भन्दा पनि प्रधानमन्त्री ताकाइचीको दर्शनसँग यसलाई सुसंगत राख्छ,’ उनले थपे ।
हालैका तथ्यांकहरूले यस दृष्टिकोणलाई बलियो बनाएका छन् । पहिलो त्रैमासिकमा अर्थतन्त्र वार्षिक २.१ प्रतिशतको दरले विस्तार भएको छ र वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.५ प्रतिशतले बढेको छ ।
बलियो सेमिकन्डक्टर ढुवानी र एआई–सम्बन्धित मागको मद्दतले अप्रिलमा निर्यात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले बढेको छ ।
कर्पोरेट पुनःसंरचना, रेकर्ड मर्जर र एक्विजिसन, सक्रिय लगानीकर्ता, निजी इक्विटी र आन्तरिक व्यापार लगानीका कारण कोलले समेत सेयर बजारमा निरन्तर सुधारको सम्भावना देखेका छन् ।
तर, ऋणपत्र र येनको हकमा भने हिसाब फरक छ । जापानी मुद्रा प्रति डलर १६० को नजिक छ जुन क्षेत्रलाई प्रायः सम्भावित हस्तक्षेपको संकेतका रूपमा लिइन्छ ।
जहाँसम्म ऋणपत्र बजारको कुरा छ, यसले मुद्रास्फीति, बैंक अफ जापानको ब्याजदर वृद्धि र ऋणपत्रको आपूर्तिमा हुने वृद्धि झन् झन् निश्चित हुँदै गएको कुरा झल्काउँछ भनी कोलले बताए ।





प्रतिक्रिया