
काठमाडौं । कालापानी–लिपुलेक–लिम्पियाधुराका विषयमा सरकारले भारत र चीनलाई पठाएको कूटनीतिक नोटमा भारतले जवाफ पठाएको प्रधानमन्त्री वालेन्द्र साहले बताएका छन् ।
आइतबार संसदमा एमालेकी सांसद पद्मा अर्यालले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री साहले यो जानकारी दिएका हुन् ।
उक्त जवाफमा ‘दुईवटै सरकारले आफ्ना इतिहासविद्, सर्भेयर, भूमि सम्बन्धी जानकारी भएका मानिसहरू राखेर टेबलटक मार्फत समाधान गर्ने कुरा भएको छ,’ प्रधानमन्त्री शाहले भने ।
यस विषयमा बेलायत सरकारसँग पनि कुरा गरेको उनले बताए ।
‘यसमा भारत र चीनलाई मात्र नभएर इंग्ल्यान्डसँग पनि कुरा भएको छ । ब्रिटिश सरकारले छोड्दाखेरीको समस्या अहिलेसम्म पनि भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।
यी सबै समस्याहरू वार्ताको माध्यमले कूटनीतिक तरिकाले समाधान हुने प्रधानमन्त्री शाहले बताए ।
यसअघि भारत र चीनबीच नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सहमति बनेको घोषणा भएपछि नेपालले दुवै छिमेकीलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो ।





प्रतिक्रिया