
एजेन्सी । भारतको दोस्रो ठूलो आईटी सेवा प्रदायक कम्पनी इन्फोसिसको वार्षिक प्रतिवेदन अनुसार, यसका सीईओ सलिल पारेखले सन् २०२५–२६ मा ८२.६ करोड भारु आम्दानी गरेका छन् । यो त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशत बढी हो ।
पारेखको पारिश्रमिकमा ८.५ करोड भारु निश्चित तलब, २३.३५ करोड भारु थप प्रोत्साहन भत्ता र ५०.७५ करोड भारु स्टक अप्सन र रेस्ट्रिक्टेड स्टक युनिटको प्रयोगबाट प्राप्त लाभ समावेश छ ।
यसको तुलनामा कम्पनीको ठूलो प्रतिस्पर्धी टाटा कन्सल्टेन्सी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत के. कृतिवासनले वार्षिक २८ करोड भारु कमाएका छन् । यसैबीच, सानो प्रतिस्पर्धी विप्रोका सीईओ श्रीनिवास पल्लियाले सन् २०२४–२५ मा ५३.६ करोड भारु र एचसीएल टेकका सी. विजयकुमारले सन् २०२४–२५ मा ९४.६ करोड भारु कमाएका छन् । यो आम्दानी यस क्षेत्रकै सबैभन्दा बढी हो ।
इन्फोसिसको वार्षिक प्रतिवेदनले पारेखको पारिश्रमिक स्टक प्रोत्साहन सहित औसत कर्मचारीको पारिश्रमिक भन्दा ७४२ गुणा बढी रहेको देखाएको छ । स्टक प्रोत्साहन बाहेक यो अनुपात २८९ गुणा रहेको छ ।
पारेखले सन् २०२५–२६ को अवधिमा सन् २०१५ को योजना अन्तर्गत २ लाख ७२ हजार ४०० र सन् २०१९ को योजना अन्तर्गत ६४ हजार ६९० रेस्ट्रिक्टेड स्टक युनिटको प्रयोग गरेको कम्पनीले खुलासा गरेको छ ।
पारिश्रमिकको यो विवरण बेंगलुरुस्थित कम्पनीले आफ्ना ३ लाखभन्दा बढी कर्मचारीहरूको तलब पुनरवलोकनको समयसीमाबारे गत महिना कुनै स्पष्ट प्रतिबद्धता नजनाएको अवस्थामा आएको हो ।
तर, प्रतिवेदनले पारेखको उत्तराधिकारीका बारेमा कुनै विवरण खुलाएको छैन । पारेखको वर्तमान कार्यकाल ३१ मार्च २०२७ मा समाप्त हुँदैछ र उनले तेस्रो पाँच वर्षे कार्यकालको सट्टा दुई वर्षको म्याद थप पाउन सक्ने सम्भावना रहेको बताइएको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा इन्फोसिस प्रविधि प्रयोग गर्ने मात्र नभई लागत, राजस्व र ग्राहक अनुभवका आधारमा व्यवसायहरूलाई त्यसबाट फाइदा लिन मद्दत गर्नेतर्फ अघि बढिरहेको कुरा व्यवस्थापनले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
‘पूर्वानुमान गर्न सकिने मशिनहरूबाट सम्भाव्यतामा आधारित मशिनहरूमा भएको परिवर्तन यसलाई अपनाउने गति जत्तिकै महत्त्वपूर्ण छ र यसले वर्तमान कार्यको आवश्यकतालाई नयाँ स्वरूप दिइरहेको छ,’ अध्यक्ष नन्दन निलेकणीले आफ्नो सन्देशमा लेखेका छन् ।
‘हामीले उत्कृष्ट कोडिङ उपकरणहरू अपनाउनेछौं र हाम्रो उत्पादकत्व बढाउनेछौं । तर, सफ्टवेयर विकासको जीवनचक्रमा अझै धेरै गर्न बाँकी छ… पुराना प्रणालीहरूलाई आधुनिक बनाउनु नयाँ विकास गर्नुभन्दा धेरै गाह्रो छ । एन्टरप्राइज एआईले पनि यही यथार्थको सामना गरिरहेको छ ।’
इन्फोसिसले एआई कार्यक्रमहरू अहिले यसका शीर्ष २०० ग्राहकहरूमध्ये ९० प्रतिशतमा लागू गरिएको र ४६ सयभन्दा बढी एआई परियोजनाहरू सञ्चालनमा रहेको बताएको छ । यसका साथै एआई सम्बन्धी कामले कुल राजस्वको ५.५ प्रतिशत हिस्सा ओगटेको कुरा पनि कम्पनीले दोहोर्याएको छ ।





प्रतिक्रिया