
एजेन्सी । अमेरिकासँगको प्रस्तावित समझदारी पत्रमा १२ अर्ब डलरको रोक्का सम्पत्ति फुकुवा गर्ने सम्झौता समावेश गरिएको इरानको सरकारी सञ्चारमाध्यमले शनिबार रिपोर्ट गरेका छन् ।
उक्त रिपोर्टले समझदारी पत्रको अनौपचारिक मस्यौदालाई उद्धृत गरेको छ जबकि यसै हप्ताको सुरुमा सरकारी टेलिभिजनले प्रसारण गरेको यस्तै विषयलाई ह्वाइट हाउसले काल्पनिक भन्दै खारेज गरिदिएको थियो ।
यो रिपोर्ट दुई दुश्मन देशहरूबीचको युद्ध रोक्ने उद्देश्यले गरिएको सम्भावित सम्झौताका बारेमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विस्तृत जानकारी दिएको एक दिनपछि आएको हो जसमा उल्लिखित मुख्य बुँदाहरूलाई इरानी स्रोतहरूले पनि विवादित बताएका छन् ।
शनिबारको सरकारी टेलिभिजनको रिपोर्टमा भनिएको छ, ‘अमेरिकाले ६० दिनभित्र इरानलाई उसको १२ अर्ब डलरको सम्पत्तिमा पूर्ण पहुँच प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ताकि ती स्रोतहरू प्रतिबन्धविना इरानले चाहेको गन्तव्यका बैंकहरूमा स्थानान्तरण र खर्च गर्न सकियोस् ।’
शुक्रबार सम्झौताको वर्णन गर्दै ट्रम्पले अर्को सूचना नभएसम्म कुनै पनि पैसाको लेनदेन हुने छैन भन्ने कुरामा जोड दिएका थिए । त्यसलाई इरानी सञ्चारमाध्यमहरूले जानकार स्रोतहरूलाई उद्धृत गर्दै तुरुन्तै खण्डन गरेका थिए ।
यस हप्ताको सुरुमा एक स्रोतले एएफपीलाई बताएअनुसार, इरानको केन्द्रीय बैंकका प्रमुख कतार भ्रमण गर्ने एउटा प्रतिनिधिमण्डलको हिस्सा थिए । त्यहाँ ‘रोक्का गरिएका कोषहरूको मुद्दामा छलफल गरिएको थियो जुन अन्तिम सम्झौताको एक हिस्साको रूपमा समझदारी पत्रमा समावेश गरिएको छ ।’
तेहरानले हर्मुज जलयोजकको व्यवस्थापन जारी राख्ने शनिबारको सरकारी टेलिभिजन रिपोर्टले उल्लेख गरेको छ । त्यसलाई इरानले युद्धको सुरुदेखि नै नाकाबन्दी गरेको छ र त्यसका कारण विश्व बजारमा हलचल मच्चिएको छ ।
इरानले अप्रतिबन्धित जहाज आवागमनका लागि उक्त जलमार्ग पुनः खोल्ने ट्रम्पले बताएका थिए । तर, अमेरिकाले ऊर्जा ढुवानीका लागि यो महत्त्वपूर्ण मार्गमा इरानको नियन्त्रण कायमै रहनु अस्वीकार्य हुने कुरा बारम्बार दोहोर्याउँदै आएको छ ।





प्रतिक्रिया