
एजेन्सी । लोम्बार्ड ओडियरको नयाँ सर्वेक्षण अनुसार, एसियाका धनी परिवारहरू आफ्नो सम्पत्ति पुस्तौंसम्म जोगाउन चाहन्छन् । तर, धेरैमा अझै पनि आधारभूत उत्तराधिकार योजनाको अभाव छ ।
कम्तीमा १० लाख डलरको लगानीयोग्य सम्पत्ति भएका एसिया–प्रशान्त क्षेत्रका ३९० भन्दा बढी उच्च धनी व्यक्तिहरूमाझ गरिएको सर्वेक्षणले देखाएअनुसार ६४.२ प्रतिशत उत्तरदाताले सम्पत्ति हस्तान्तरण गर्दा पारिवारिक सम्पत्तिलाई पुस्तान्तरण गरी जोगाउनुलाई आफ्नो मुख्य प्राथमिकता बताएका छन् ।
तर, २६.९ प्रतिशतले मात्र आफ्नो परिवारमा पूर्ण उत्तराधिकार योजना रहेको बताएका छन् भने ३९.४ प्रतिशतले आफ्नो कुनै पनि उत्तराधिकार योजना नरहेको बताएका छन् ।
यस निष्कर्षले एसियाका धनी परिवारहरूमा रहेको ‘इच्छा र कार्यान्वयनबीचको खाडल’ लाई उजागर गरेको छ । यसलाई स्विस निजी बैंकले उत्तराधिकार सम्बन्धी जोखिमहरूबारे बढ्दो चेतनाका बावजुद अझै पनि धेरै परिवारहरू पूर्वतयारीमा कमजोर रहेको बताएको छ ।
एसिया र बाँकी विश्वमा ठूलो स्तरमा पुस्तान्तरण सम्पत्ति हस्तान्तरण भइरहेको सन्दर्भमा यो विषय थप गम्भीर बन्दै गएको छ, विशेषगरी पहिलो पुस्ताका उद्यमीहरूले आफ्ना व्यवसाय र सम्पत्ति छोराछोरीलाई हस्तान्तरण गर्ने तयारी गरिरहेका छन् ।
लोम्बार्ड ओडियरका एसियाका प्रमुख लगानी अधिकृत जोन वुड्सले बलियो सुशासन र योजनाको ढाँचाबिना धेरै परिवारले आफ्नो सम्पत्ति गुमाउने जोखिम रहेको चेतावनी दिएका छन् ।
‘यस विरोधाभासले उब्जाएको चिन्ता मेरा लागि गम्भीर छ,’ रिपोर्ट सार्वजनिक गर्ने क्रममा आयोजित एक राउन्डटेबल बैठकमा वुड्सले भने ।
उनले थपे, ‘हामीले सर्वेक्षण गरेका अधिकांश ग्राहकहरूले सम्पत्ति योजनाबारे गम्भीर रूपमा सोचेका छैनन् भने उनीहरूले आफ्नो सम्पत्ति धेरै समयसम्म जोगाउन सक्ने छैनन् ।’
एसिया–प्रशान्त क्षेत्रमा जापान, फिलिपिन्स, मलेसिया र हङकङ उत्तराधिकारको तयारीमा सबैभन्दा कमजोर देखिएका छन् । ती बजारका करिब आधा उत्तरदाताहरूले आफ्नो कुनै उत्तराधिकार योजना नभएको वा यस्तो योजना आफ्नो लागि सान्दर्भिक नभएको महसुस गरेको बताएका छन् ।
धेरै पाका पारिवारिक सदस्यहरूले नयाँ पुस्तालाई सुशासन र सम्पत्ति सम्बन्धी छलफलमा अर्थपूर्ण रूपमा सहभागी गराउन अझै बाँकी रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी पाको पुस्तामध्ये एक चौथाइभन्दा बढीले आफ्नो परिवारमा सम्पत्तिको स्पष्ट साझा उद्देश्यबारे कुनै छलफल नभएको बताएका छन् ।
लोम्बार्ड ओडियरको एसियाका लागि सम्पत्ति योजना प्रमुख लुइसा लूले सांस्कृतिक संवेदनशीलता र तत्परताको कमीका कारण धेरै धनी एसियाली परिवारहरूले उत्तराधिकार सम्बन्धी छलफललाई ढिलाइ गरिरहेको बताइन् ।
सञ्चार अझै पनि ठूलो अवरोधको रूपमा रहेको छ, विशेषगरी एसियामा जहाँ अंशबण्डा र सम्पत्ति हस्तान्तरणका विषयमा छलफल गर्नुलाई अझै पनि निषेधित मानिन्छ । करिब २९ प्रतिशत उत्तरदाताहरूले खुला सञ्चारको अभावलाई सुशासनको मुख्य चुनौतीका रूपमा पहिचान गरेका छन् ।
‘केही अप्रत्याशित घटना हुँदा धेरै परिवारहरू त्यसका लागि पूर्ण रूपमा तयार हुने छैनन्,’ उनले भनिन् ।









प्रतिक्रिया