भूराजनीतिक तनावका बीच भारत–चीन समुद्री व्यापारमा तीव्रता

42
Shares

एजेन्सी । भूराजनीतिक तनावले सार्वजनिक बहसलाई आकार दिइरहेको भए पनि भारत र चीनबीचको व्यापारिक सम्बन्ध समुद्री मार्गबाट सुस्तरी तर बलियो रूपमा अघि बढिरहेको छ ।

विश्वको प्रख्यात ढुवानी कम्पनी मेर्स्कले चीनका प्रमुख बन्दरगाहहरूलाई भारतको पश्चिमी तटसँग जोड्ने नयाँ डेडिकेटेड ओसन फ्रेट सर्भिस सुरु गर्ने घोषणा गरेको छ । चिनियाँ अधिकारीहरूले यस कदमलाई राजनीतिभन्दा वाणिज्य बढी शक्तिशाली हुन्छ भन्ने प्रमाणका रूपमा प्रस्तुत गरिरहेका छन् ।

भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले सामाजिक सञ्जाल एक्स मार्फत यस विकासको चर्चा गरेका छन् । मेर्स्कले एफआई२ नामक फिडर सेवा सुरु गर्ने र गुजरातको पिपावाभ बन्दरगाह हुँदै नयाँ ढुवानी करिडोर खोल्ने निर्णयबारे उनले भनेका छन्, ‘जब विश्वको सबैभन्दा ठूलो कन्टेनर लाइनले कुनै व्यापारिक मार्गमा दाउ लगाउँछ, त्यो राजनीति होइन, मालसामानको गणित हो ।’

यो टिप्पणी यस्तो समयमा आएको छ जब सन् २०२५ मा भारत र चीनबीचको द्विपक्षीय व्यापार रेकर्ड १५५.६ अर्ब डलर पुगेको छ । यसले दुई एसियाली शक्तिहरूबीचको रणनीतिक प्रतिस्पर्धा र कूटनीतिक विमतिका बावजुद आर्थिक अन्तरनिर्भरता निकै गहिरो रहेको पुष्टि गर्छ ।

चीन अझै पनि भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो । उसले भारतलाई मशिनरी, औषधिका कच्चा पदार्थ, इलेक्ट्रोनिक्स र उत्पादनका लागि आवश्यक पाटपुर्जाहरू आपूर्ति गर्छ ।

अर्कोतर्फ, भारतले फलामको धाउ लगायतका कच्चा पदार्थ र वस्तुहरू चीन निर्यात गरिरहेको छ । यस पृष्ठभूमिमा मेर्स्कको एफआई२ सेवालाई भारत–चीन व्यापार करिडोरको एक महत्त्वपूर्ण व्यावसायिक अनुमोदनका रूपमा हेरिएको छ ।

कम्पनीका अनुसार, यस सेवा अन्तर्गत पहिलो जहाज जुन ४ मा शाङ्हाईबाट प्रस्थान गर्नेछ । यो साप्ताहिक सेवा सुदूरपूर्व एसिया र भारतीय उपमहाद्वीपबीच बढ्दो कार्गो क्षमताको मागलाई सम्बोधन गर्न डिजाइन गरिएको हो ।

यस मार्गले चीनका शाङ्हाई, निङ्बो र नान्शालाई भारतको न्हावा शेवा र पिपावाभ बन्दरगाहसँग जोड्नेछ । त्यसपछि मलेसियाको तान्जुङ पेलेपास ट्रान्ससिपमेन्ट हब हुँदै यो सेवा पाकिस्तानको पोर्ट कासिमसम्म विस्तार हुनेछ । यस सेवामा ४५ सय टीईयू क्षमताका ६ वटा जहाजहरू सञ्चालन हुनेछन् ।

एफआई२ सेवाको मुख्य रणनीतिक फाइदा गुजरातको पिपावाभ बन्दरगाह र भारतको डेडिकेटेड फ्रेट करिडोर रेल नेटवर्कसँगको आबद्धता हो । समुद्री ढुवानीलाई उच्च गतिको भित्री रेल लजिस्टिकसँग जोडेर उत्तर भारतका औद्योगिक केन्द्रहरू दिल्ली–एनसीआर, गुरुग्राम र नोयडासम्म मालसामान पुर्याउन लाग्ने समय निकै घट्ने अपेक्षा गरिएको छ ।

उद्योग विज्ञहरूका अनुसार, यो बहु–मोडल कनेक्टिभिटीले विशेषगरी अटोमोटिभ पाटपुर्जा, रसायन, खुद्रा व्यापार र प्रविधि क्षेत्रलाई फाइदा पुर्याउनेछ ।

मेर्स्क दक्षिण एसियाका प्रबन्ध निर्देशक थोमस थिवेसले एफआई२ सेवा चीन–भारत मार्गमा ग्राहकहरूले खोजेको क्षमता, निरन्तरता र कनेक्टिभिटीको सीधा जवाफ भएको बताएका छन् । ‘साप्ताहिक समुद्री सेवालाई डीएफसी मार्फत हाम्रो रेल समाधानसँग जोडेर हामी हाम्रा ग्राहकहरूलाई वास्तविक एकीकृत लजिस्टिक अनुभव दिइरहेका छौं,’ उनले भने ।

यो नयाँ सेवा मेर्स्कको विद्यमान एफआई३ मार्गको परिपूरक हुनेछ । यसले सुदूरपूर्व र भारतबीच दुईवटा सीधा समुद्री सेवाहरू उपलब्ध गराउनेछ ।

यस घोषणाको समय निकै अर्थपूर्ण छ । विश्वभरका ढुवानी कम्पनीहरूले बदलिँदो उत्पादन ढाँचा र भूराजनीतिक पुनर्गठन अनुसार आफ्ना मार्गहरू परिवर्तन गरिरहेका छन् । धेरै बहुराष्ट्रिय कम्पनीहरूले चीन प्लस वान रणनीति अपनाएर भारतलाई वैकल्पिक उत्पादन केन्द्रका रूपमा हेरिरहेका भए पनि पछिल्लो ढुवानी विस्तारले दुई अर्थतन्त्रबीचको व्यापार डिकपलिङ हुनुको सट्टा अझ गहिरो हुँदै गएको संकेत गर्छ ।