क्यानाडासँग जर्मनीको ऐतिहासिक ग्यास सम्झौता, हर्मुज र मोजाम्बिकमा तनाव

168
Shares

एजेन्सी । विश्व ऊर्जा बजारमा ऐतिहासिक फेरबदलको संकेत गर्दै जर्मनी र क्यानडाबीच २० वर्ष लामो तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति सम्झौता भएको छ ।

यसका साथै पश्चिम एसियाको हर्मुज जलयोजक र अफ्रिकाको मोजाम्बिकमा बढ्दो तनावले विश्वव्यापी भूराजनीतिक परिदृश्यलाई थप जटिल बनाएको छ ।

जर्मनीको ऊर्जा कम्पनी एसईएफई र क्यानाडाको किसी लिसिम्सबीच २० वर्षका लागि वार्षिक १० लाख टन एलएनजी आपूर्तिका लागि ऐतिहासिक सम्झौता भएको छ ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको विशेष पहलमा भएको यस सम्झौतालाई बर्लिनको नयाँ रणनीतिको रूपमा हेरिएको छ । जर्मनीले अमेरिकाको अस्थिर राजनीतिक वातावरण र वाशिङटनमाथिको अत्यधिक निर्भरतालाई घटाउन आफ्नो ऊर्जा स्रोतको विविधीकरण गर्न खोजेको देखिन्छ ।

अमेरिका र इरानबीचको पर्दापछाडिको कूटनीति असफल भएको छ । इरानी सञ्चारमाध्यमहरूले हालै एउटा मस्यौदा सार्वजनिक गरेका थिए जसमा अमेरिकाले सामुद्रिक नाकाबन्दी हटाउने र तेहरान तथा ओमानलाई हर्मुज जलयोजकको ट्राफिक संयुक्त रूपमा व्यवस्थापन गर्न दिने उल्लेख थियो ।

तर, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई तुरुन्तै अस्वीकार गर्दै भिटो लगाएका छन् । ट्रम्पले भनेका छन्, ‘हर्मुज अन्तर्राष्ट्रिय जलक्षेत्र हो, यसमा कसैको नियन्त्रण चल्दैन ।’

उता मोजाम्बिकको ३० एमटीपीए क्षमताको विशाल ग्यास परियोजना अहिले आर्थिक र सुरक्षा कारणले अन्योलमा परेको छ । परियोजना विकासकर्ता टोटल इनर्जीजले सुरक्षा व्यवस्थापनमा भएको २ अर्ब डलरको अतिरिक्त खर्च मोजाम्बिक सरकारले बेहोर्नुपर्ने माग राखेको छ जसलाई राजधानी मापुटोले कडा रूपमा अस्वीकार गरेको छ ।

यसैबीच, काबो डेलगाडो प्रान्तमा सुरक्षा दिइरहेका रुवान्डाली सेनाका लागि युरोपेली संघ (ईयू) ले दिँदै आएको कोषमा पनि कटौती भएको छ जसले आयोजनाको भविष्य थप संकटमा पारेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको ऊर्जा कूटनीति तीव्र गतिमा अघि बढेको छ । रुसी आणविक कम्पनी रोसाटोमले आगामी वर्ष काजाकस्तानको बाल्खास ताल नजिकै देशको पहिलो आणविक विद्युत् केन्द्रको शिलान्यास गर्ने तयारी गरेको छ ।

सम्झौता भएको १० वर्षभित्रै बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको यस परियोजनाले मध्य एसियामा रुसको ऊर्जा प्रभावलाई थप मजबुत बनाउने निश्चित छ ।

चीनसँगको निर्भरता हटाउने अमेरिकाको रणनीति आफ्नै भित्री कलहका कारण प्रभावित भएको छ । अमेरिकाको प्रमुख दुर्लभ खनिज पदार्थ कम्पनी एमपी मटेरियल्सले आफ्नो प्रतिद्वन्द्वी यूएसए रेयर अर्थविरुद्ध मुद्दा दायर गरेको छ ।

स्थायी चुम्बक बनाउने प्रविधि चोरी गरेको आरोपमा लगाइएको यो मुद्दाले पेन्टागनको स्वदेशमै खनिज प्रशोधन गर्ने समयसीमालाई जोखिममा पारेको छ ।