फरारीको नयाँ ईभी लुचेको भयो आलोचना, प्रचारप्रसार भएकोमा कम्पनी खुशी

63
Shares

एजेन्सी । इटालेली सवारीसाधन कम्पनी फरारीले आफ्नो पहिलो पूर्ण–इलेक्ट्रिक कार लुचेमार्फत विश्वको ध्यान तान्न चाहेको थियो भने उसको त्यो लक्ष्य पूरा भएको छ । तर, यसप्रति आएका धेरै प्रतिक्रियाहरू आक्रोशपूर्ण छन् ।

यो नयाँ मोडल चार–ढोके र पाँच–सिटे पारिवारिक कार हो जुन यस इटालियन ब्रान्डका पेट्रोलबाट चल्ने स्पोर्ट्स कारहरूभन्दा बिल्कुलै फरक देखिन्छ ।

यो कार सोमबार ढिलो गरी रोममा आयोजित एउटा भव्य समारोहमा सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्ट इटालले राष्ट्रपति सर्जियो माटारेला र कारका सौखिन मानिने पोप लियोलाई यो कार देखाइएको थियो । पोप आफैं पनि चालकको सिटमा बस्न पाउँदा खुशी देखिएका थिए ।

तर, अटो उद्योग बाहिरका व्यक्तिहरू जोनी आइभ र मार्क न्युसन तथा उनीहरूको समूह लभफ्रुमको डिजाइनले धेरै फ्यान र विश्लेषकहरूलाई अलमलमा पारेको छ । आइभ एप्पलका आईफोन र म्याकबुकका डिजाइनरका रूपमा प्रसिद्ध छन् ।

सामाजिक सञ्जालमा यसका नमीठा मीमहरू भरिएका छन् जसमा लुचेलाई भ्याकुम क्लिनर, रबरको जुत्ता वा विश्वकै कुरूप कारहरूमध्ये एक मानिने सन् १९९० को दशकको फियाट मल्टिप्लासँग तुलना गरिएको छ ।

इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनीले सार्वजनिक रूपमै सन् १९८८ मा मृत्यु भएका संस्थापक एन्जो फरारीले यसलाई देखेको भए के भन्थे होलान् भनी प्रश्न गरेका छन् । फरारीका पूर्व सीईओ लुका कोर्डेरो डि मोन्टेजेमोलोले त यो कारबाट उफ्रिरहेको घोडाको लोगो नै हटाइनुपर्ने बताए ।

लगानीकर्ताहरू पनि यसबाट हच्किएका छन् । मिलानमा सूचीकृत फरारीको सेयर मंगलबार ८.४ प्रतिशतले घट्यो । एक लगानीकर्ताले रोयटर्सलाई बताएअनुसार, सौन्दर्यगत निराशाका कारण सेयर मूल्यमा गिरावट आएको हो । बुधबार पनि सेयर मूल्यमा थप ०.१ प्रतिशतको गिरावट आयो ।

यस आक्रोशबारे फरारीले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

कार इन्डस्ट्री एनालिसिसका फेलिपे मुनोजले परम्पराभन्दा बिल्कुलै फरक शैली अपनाएका कारण फेरारीले यस्तो हंगामाको अपेक्षा पहिले नै गरेको हुनुपर्ने बताए । उनले नकारात्मक प्रचार पनि अन्ततः प्रचार नै भएको टिप्पणी गरे ।

‘सञ्चारको दृष्टिकोणबाट उनीहरूले विश्वलाई इलेक्ट्रिक फरारीको बारेमा कुरा गराउन सफल भएका छन्,’ उनले भने, ‘चर्चाको कुरा गर्ने हो भने उनीहरू सफल भएका छन् किनकि अहिले अरू कुनै विषय नै छैन ।’

मुनोजले लुचेलाई एउटा स्टेटमेन्ट प्रोडक्ट (आफ्नो उपस्थिति जनाउने उत्पादन) को रूपमा वर्णन गरे । त्यो धेरै बिक्री नभए पनि प्रविधि प्रदर्शन गर्न र इलेक्ट्रिक युगमा फरारीलाई स्थापित गर्न महत्त्वपूर्ण हुनेछ ।

कम्पनीका एक स्रोतले पहिलेका अन्य फरक मोडलहरू सन् २०११ को अल–ह्वील ड्राइभ र सन् २०२२ को पुरोसांग एसयूभीलाई पनि सुरुमा शंकाको दृष्टिले हेरिएको तर पछि ती निकै राम्रो बिक्री भएको कुरा स्मरण गराए ।

एचएसबीसीका विश्वव्यापी अटो विश्लेषक माइकल टिन्डलले फरारीले मानिसहरूलाई अचम्ममा पार्ने अपेक्षा गरेको भए पनि बजारमा यति तीव्र प्रतिक्रिया आउने नसोचेको हुन सक्ने बताए ।

‘व्यवस्थापनको कुरा सुन्दा यस्तो लाग्छ कि आफ्नो मुख्य पहिचान (४–ढोका, ५–सिट, इलेक्ट्रिक) भन्दा धेरै फरक भएकाले उनीहरूले यो जोखिम मोल्न बाध्य भएको महसुस गरेका थिए,’ उनले लेखेका छन्, ‘यो जोखिम सफल भयो कि भएन भन्ने कुरा कारको अर्डरले नै तय गर्नेछ ।’