आगामी ५ वर्षमा विश्व तापक्रम कीर्तिमान स्तरमा पुग्ने प्रक्षेपण

126
Shares

एजेन्सी । आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम कीर्तिमानी स्तरको नजिक पुग्ने प्रक्षेपण गरिएको छ । यसमा आर्कटिक क्षेत्रको तापक्रम अन्य क्षेत्रको तुलनामा छिटो बढ्ने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्र संघको मौसम एजेन्सी र बेलायतको मौसम विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

क्षेत्रीय तापक्रम र वर्षाको पूर्वानुमान गर्ने यो वार्षिक प्रतिवेदनले वार्षिक विश्वव्यापी औसत सतह तापक्रम १८५०–१९०० को औद्योगिक क्रान्ति पूर्वको अवधिको तुलनामा १.३ देखि १.९ डिग्री सेल्सियसले बढी हुने प्रक्षेपण गरेको छ ।

‘जलवायु तातिरहेको र विश्वव्यापी औसत तापक्रम निरन्तर बढिरहेको निकै स्पष्ट प्रमाणहरू छन्,’ बेलायतको मौसम विभागकी अनुसन्धान वैज्ञानिक मेलिसा सीब्रुकले रोयटर्सलाई भनिन् ।

सन् २०१५ को पेरिस सम्झौतामा सरकारहरूले औसत विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिने प्रयास गर्ने वाचा गरेका थिए जसभन्दा माथि पुग्दा गम्भीर जलवायु घटनाहरूको तीव्रता बढ्ने मानिन्छ ।

प्रतिवेदनका अनुसार, सन् २०२६ र २०३० को बीचमा कम्तीमा एक वर्ष विश्वव्यापी औसत सतह तापक्रम १८५०–१९०० को औसत स्तरभन्दा १.५ डिग्री सेल्सियसले अस्थायी रूपमा नाघ्ने प्रबल सम्भावना छ ।

यसले सन् २०२६ र २०३० को बीचमा कुनै एक वर्षको औसत विश्वव्यापी तापक्रमले अहिलेसम्मकै कीर्तिमानी तातो वर्ष सन् २०२४ लाई उछिन्ने प्रक्षेपण पनि गरेको छ । सन् २०२४ मा पहिलोपटक तापक्रम पूर्व–औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

१.५ डिग्री सेल्सियसको सीमा अस्थायी रूपमा पार गर्नुको अर्थ पेरिस सम्झौता असफल भएको भन्ने होइन किनकि यसले एक वर्षको वृद्धिलाई भन्दा पनि २० वर्षको दीर्घकालीन औसतलाई जनाउँछ, सीब्रुकले भनिन् । तर, विश्व जति यो सीमाको नजिक पुग्छ यसलाई बारम्बार पार गर्ने सम्भावना त्यति नै बढ्दै जाने उनले बताइन् ।

‘विश्वव्यापी औसत तापक्रमलाई १.५ डिग्रीमा सीमित राख्ने समयको अवधि द्रुत रूपमा बन्द हुँदै गइरहेको कुरा विज्ञानले स्पष्ट पारेको छ,’ सीब्रुकले थपिन् ।

प्रतिवेदन अनुसार, आगामी पाँच वर्षमा उत्तरी गोलार्धमा आर्कटिकको हिउँदको तापक्रम विश्वव्यापी औसतभन्दा साढे तीन गुणाले बढ्ने र सन् १९९१–२०२० को आधार रेखाभन्दा करिब २.८ डिग्री सेल्सियस माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

आगामी आधा दशकमा मार्च महिनामा बेरेन्ट्स सी, बेरिङ सी र ओखोट्स्क सी मा आर्कटिक समुद्री हिउँ पग्लने अपेक्षा गरिएको छ ।

आर्कटिकको तापक्रम वृद्धिले मौसम प्रणालीलाई बिथोल्न सक्छ र विशेषगरी विश्वका उत्तरी भागहरूमा थप गम्भीर मौसमी घटनाहरू निम्त्याउन सक्छ, सीब्रुकले भनिन् ।

आगामी पाँचवटा हिउँदमा उत्तरी गोलार्धमा थप वर्षा हुने, साथै मे–सेप्टेम्बरको अवधिमा उत्तरी युरोप, अलास्का, साइबेरिया र साहेलमा अत्यधिक वर्षा हुने र त्यसको विपरीत अमेजन क्षेत्रमा यो सिजनमा सुक्खा मौसम हुने प्रक्षेपण गरिएको छ ।

यस वर्षको हिउँदमा शक्तिशाली एल निनोको पनि प्रक्षेपण गरिएको छ जुन सन् २०२७ सम्म जारी रहन सक्छ । यसले प्रशान्त महासागर तातिने भएकाले विश्वव्यापी तापक्रमलाई सम्भावित कीर्तिमानी स्तरमा पुर्याउन सक्छ, सीब्रुकले भनिन् ।

एल निनो मध्य र पूर्वी प्रशान्त महासागरको सतहको तापक्रम आवधिक रूपमा बढ्ने प्रक्रिया हो जुन सामान्यतया ९ देखि १२ महिनासम्म रहन्छ ।