
एजेन्सी । बंगलादेशमा आफ्नो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जस्तो कपाल भएको एउटा राँगो प्रसिद्ध भएपछि त्यसलाई बलि नदिइने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अब यसको हेरचाह राष्ट्रिय चिडियाखानामा गरिनेछ ।
१७ करोड जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र मुस्लिमबहुल बंगलादेशले बिहीबार बलिदानको पर्व ईद–अल–अदहा मनाउँदैछ ।
७०० किलो तौल भएको उक्त राँगो दुर्लभ अल्बिनो (पाण्डुरंगी) हो । त्यसको टाउकोमा अमेरिकी राष्ट्रपतिको विशिष्ट शैलीसँग मिल्दोजुल्दो हल्का रंगको कपाल छ । यसलाई पर्वको अवसरमा बलि दिने तयारी गरिएको थियो ।
तर, काटिनुभन्दा केही घण्टाअघि सरकारले हस्तक्षेप गरी अनलाइनमा चर्चा कमाएको यस जनावरलाई बचाएको छ ।
राष्ट्रिय चिडियाखानाका क्युरेटर अतिकुर रहमानले उक्त जनावरको राम्रोसँग हेरचाह गरिने बताए ।
‘हामीले यो अल्बिनो भैंसीका लागि एउटा छुट्टै गोठ तोकेका छौं र हेरचाहकर्ता नियुक्त गरेका छौं,’ रहमानले बुधबार भने, ‘यसलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राखिनेछ ।’
बंगलादेशमा यो अप्रत्याशित सामाजिक सञ्जाल स्टारसँग तस्बिर खिच्न मानिसहरूको भीड लागेको थियो ।
राँगाका पूर्व मालिक ३८ वर्षीय जियाउद्दीन मृधाले आफ्नो भाइले यसको असाधारण कपालको कारण यसको नाम ट्रम्प राखेको बताए ।
मृधाले सामाजिक सञ्जालका फ्यानहरू, रमितेहरू र बालबालिकाहरू सहित जिज्ञासु आगन्तुकहरूको ताँती यो जनावर हेर्नका लागि आउने गरेको बताए ।
उनले ईद–अल–अदहा अगावै उक्त राँगो बेचेका थिए ।
तर, सरकारले त्यसलाई बचाउन आदेश दिएपछि प्रहरीले यसलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
‘यो दुर्लभ जनावर भएकाले मालिकबाट लिनका लागि पशुसेवा विभागले हामीलाई अनुरोध गरेको थियो,’ ढाकाको केरानीगञ्ज प्रहरी चौकीका प्रमुख मोहम्मद रुहुल कुद्दुसले भने । त्यहाँ उक्त राँगोलाई लगिएको थियो ।
‘उनीहरूले यो अल्बिनो भैंसी अझै धेरै सानो छ र केही वर्षसम्म पाल्न सकिन्छ भनेका छन् ।’
पर्वको समयमा बाख्रा, भेडा, गाई र भैंसी गरी १ करोड २० लाख भन्दा बढी पशुको बलि दिइने अपेक्षा गरिएको छ । त्यसकारण धेरै गरिब परिवारहरूले मासु खान पाउने दुर्लभ अवसर पाउँछन् ।









प्रतिक्रिया