भारतको होटल क्षेत्रले सन् २०२६ मा १ अर्ब डलरको कारोबार गर्न सक्ने आकलन

63
Shares

एजेन्सी । परामर्शदाता कम्पनी जेएलएलले सार्वजनिक गरेको तथ्यांक र अनुमानका अनुसार, भूराजनीतिक अनिश्चितता र यात्रा अवरोधका बावजुद भारतमा यस वर्ष झण्डै १ अर्ब डलरको रेकर्ड होटल कारोबार हुन सक्छ ।

जेएलएलका अनुसार, सन् २०२५ मा भारतमा ५६ करोड ७० लाख डलर बराबरको होटल कारोबार भएको थियो जुन अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले बढी हो ।

जेएलएलको तथ्यांक अनुसार, सन् २०२६ को पहिलो त्रैमासिकमा देशमा होटल कारोबार ३४ करोड ५० लाख डलर पुगेको छ जुन एक वर्षअघि ९ करोड ८० लाख डलर मात्र थियो । यससँगै भारत पहिलोपटक एसिया प्रशान्त क्षेत्रका शीर्ष पाँच बजारहरूमा पर्न सफल भएको छ ।

‘ऐतिहासिक रूपमा सबैभन्दा सक्रिय लगानी बजारहरू जापान, चीन, कोरिया, अस्ट्रेलिया र सिंगापुर रहेका छन् र सामूहिक रूपमा यी बजारहरूले यस क्षेत्रको कुल कारोबारको ७०–८० प्रतिशत हिस्सा ओगट्छन्,’ जेएलएलका एसिया प्यासिफिक होटल एन्ड हस्पिटालिटी ग्रुपका सीईओ निहात एर्कानले भने, ‘तर रोचक कुरा के छ भने सन् २०२६ को पहिलो त्रैमासिकमा भारत पहिलोपटक शीर्ष पाँच बजारमा परेको छ । यसअघि हामीले सन् २०२६ मा भारतको कारोबार आधा अर्ब डलर जति हुने प्रक्षेपण गरेका थियौं तर पहिलो त्रैमासिकको यो गति कायम रह्यो भने हामी भारतमा सन् २०२६ मा झण्डै १ अर्ब डलर बराबरको गतिविधि देख्न सक्छौं,’ उनले भने ।

जेएलएलका अनुसार, सन् २०२६ को पहिलो त्रैमासिकमा जापानमा करिब १ अर्ब डलरको बिक्री भयो भने चीनमा ७२ करोड ४० लाख डलर र दक्षिण कोरियामा ४७ करोड १० लाख डलरको कारोबार भयो ।

भारत ३४ करोड ५० लाख डलरका साथ चौथो स्थानमा आयो र अस्ट्रेलिया २३ करोड ५० लाख डलरका साथ पाँचौं स्थानमा रह्यो ।

एसिया प्रशान्त क्षेत्रको पहिलो त्रैमासिक कारोबारमा भारतको हिस्सा १३ प्रतिशत रह्यो ।

“सन् २०२५ मा यस क्षेत्रको कुल कारोबार १०.८ अर्ब डलर थियो । यो सन् २०२४ को १३.३ अर्ब डलरको तुलनामा २० प्रतिशतले कम हो,’ एर्कानले भने, ‘हामीले सन् २०२५ को अन्तिम त्रैमासिकमा कारोबार गतिविधिमा बलियो गति देख्यौं र त्यो सन् २०२६ मा पनि जारी छ । हामी सन् २०२६ मा १३ अर्ब डलरभन्दा बढीको कारोबार हुने अपेक्षा गरिरहेका छौं ।’

जेएलएलका इन्डिया होटलका प्रबन्ध निर्देशक र एसिया होटल क्यापिटल मार्केटका सिनियर डाइरेक्टर गौरव शर्माले निजी इक्विटी फर्महरू र फ्यामिली अफिसहरू बाहेक थुप्रै सूचीकृत संस्थाहरू भारतमा सक्रिय भएको बताए ।

‘ती सबै लगानीका अवसरहरू खोजिरहेका छन् । त्यसैले भारतमा बजार अझ बलियो हुनेछ,’ उनले भने, ‘विश्वव्यापी समस्याहरू आइरहन्छन् तर ठूलो लगानीकर्ता समुदाय यसमा अभ्यस्त हुँदैछ । भारतमा नयाँ गन्तव्यहरूको खोजी भइरहेको छ र थप होटलहरूका लागि सम्झौता भइरहेको छ । मानिसहरूले निर्माण कार्य जारी राखेका छन् र सम्झौता गतिविधि बढ्नु भनेको लगानीकर्ताहरू यस क्षेत्रमा विश्वास गर्छन् भन्ने अर्को संकेत हो ।’

एर्कानले भारत र अन्य एसिया प्रशान्त बजारहरूमा आन्तरिक माग उत्साहजनक रहेको र त्यसले यात्राको माग र पर्यटनलाई टिकाउन मद्दत गरिरहेको बताए । ‘लगानीकर्ताहरूले भारतलाई एउटा वृद्धि भइरहेको बजारको रूपमा हेरिरहेका छन् । यस क्षेत्रमा हस्पिटालिटी सम्पत्तिप्रतिको धारणा निकै बलियो छ । त्यसैले कारोबारको मात्रा बढाइरहेको छ,’ उनले भने, ‘निरन्तर वा लामो समयसम्म चल्ने द्वन्द्व कसैका लागि पनि राम्रो होइन । तर, हामीले कुरा गरिरहेका लगानीकर्ताहरूले भारतमा मात्र नभई सम्पूर्ण एसिया प्रशान्त बजारमा दीर्घकालीन सम्भावना र अवसर देखिरहेका छन् ।’